च्याम्पियन्स लिगमा आज म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिडदै

काठमाडौं, / युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस बार्सिलोनाको रोमाञ्चक भिडन्त हुँदैछ ।

उत्कृष्ट लयमा रहेको युनाइटेडले प्रमुख उपाधि दाबेदारमध्येको एक टिम बार्सिलोनालाई आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा स्वागत गर्दैछ ।

अन्तिम १६ मा बार्सिलोना र युनाइटेड दुवैले फ्रेन्च क्लबलाई हराएर अन्तिम आठमा पुगेका थिए । जसमा बार्सिलोनाले लियोनलाई समग्रमा ५–१ ले हराएको थियो भने युनाइटेडले पिएसजीलाई ३–३ को बराबरीमा रोक्दै अवे गोलमा अघि रहेर अन्तिम आठमा पुगेको थियो ।

आज हुने दुई बलिया टोलीको भिडन्त निकै रोमाञ्चक हुने पक्का छ । किनभने, युनाइटेडको टोलीमा विश्वकै उत्कृष्टमध्येका एक गोलकिपर डेभिड डि गेयादेखि आक्रमण लाइनमा रोमेलु लुकाकु, मार्कुस रासफोर्ड र पाउल पोग्बाजस्ता खेलाडीको साथ छ ।

त्यसै पनि नयाँ प्रशिक्षक ओले गुनरको नेतृत्वमा युनाइटेडले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले आज बार्सिलोनाविरुद्ध पनि सोही लय कायम राख्न प्रयास गर्नेछ ।

बार्सिलोनाको टोलीमा यो समय उत्कृष्ट लयमा रहेका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले पोस्ट सम्हाल्नेछन् भने रक्षापंक्तिमा जेरार्ड पिके तथा जोर्डी अल्बालगायत हुनेछन् ।

मिडफिल्ड र आक्रमण लाइनमा आज लिओनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोउटिन्हो र माल्कोमलगायत खेलाडी हुनेछन् । मेस्सी, स्वारेज र माल्कोम यो समय उत्कृष्ट लयमा छन् । आज युनाइटेडविरुद्ध उत्रिँदा उनीहरू विपक्षीका लागि टाउको दुखाइ बन्ने पक्का छ ।

पछिल्लो समय बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेले चोटका कारण मैदन बाहिर रहेका बेला ब्राजिलियन युवा खेलाडी माल्कोमले मौका पाइरहेका छन् ।आजको खेलमा डेम्बेले टोलीमा रहे पनि मेडिकल टिमबाट पास पाइनसकेका कारण उनले यो खेल खेल्नेछैनन् । तसर्थ, आज पनि माल्कोमले यो खेलमा पनि मौका पाउने पक्का छ ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै युनाइटेडका प्रशिक्षक गुनरले आफ्नो घरमा बार्सिलोनालाई गोल गर्न दिई खेल जित्न प्रयास गर्ने बताएका थिए । उनले बार्सिलोनाविरुद्ध उत्कृष्ट खेल पस्किने दाबी गरेका छन् ।

बार्सिलोनाले आजको खेलमा कम्तीमा १ गोल गरेर भए पनि अवे गोल सुरक्षित गर्न चाहेको छ । बार्सिलोनाले अवे गोल निकाल्न सके दोस्रो लेगमा राहत मिल्ने ठानेको छ । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्