पाथीभराको तीर्थयात्री चढेको जिप दुर्घटना ११ जना घाइते, एकको मृत्यु

प्रयास लिम्बू
ताप्लेजुङ, चैत २७ गते /
ताप्लेजुङस्थित पाथीभराको दर्शनमा आएका तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा मे १ ज १४८६ नम्बरको जिप मङ्गलबार राती १० बजेतिर सुकेटार गुप्ते नजिक दुर्घटना हुँदा उक्त सङ्ख्यामा तीर्थयात्री घाइते भएका हुन् । जिप दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गम्भीर घाइते हुनेमा ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल, ३८ वर्षीया लक्ष्मी सिग्देल र आठ वर्षीय बालक निशान आचार्य रहेका र उहाँहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको छ ।


सामान्य अवस्थाका घाइते बाँकी छ जनाको ताप्लेजुङमै उपचार भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो । घाइते हुनेहरु सबैजना निजगढ बाराका रहेका पनि प्रहरीले जानकारी दिएको छ । उक्त जिपमा १६ जना यात्रु सवार रहेका थिए भने तीव्र गतिका कारण जिप अनिन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ ।

एक तीर्थयात्रीको लेक लागेर मृत्यु
यसैबीच मङ्गलबार पाथीभराको दर्शन गर्न जाँदै गरेका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । दर्शनका लागि मन्दिर प्रवेशको मुख्यद्वार पुग्न लागेका सुनसरी इनरुवा–९ का ४५ वर्षीय तुलसीप्रसाद यादवको मृत्यु भएको हो ।

दिउँसो पाँच बजेतिर बाटो हिड्दै गर्दा एक्कासी लड्नुभएका यादवलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिन अघिदेखि वर्षासँगै पाथीभरामा निरन्तर हिउँ परिरहेको र सोही हिउँका कारण लेक लागेर उहाँको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

यस्तै दुई साताअघि पनि पाथीभराको दर्शन गरेर फर्कदै गर्दा ललितपुरका एक तीर्थयात्रीको पनि मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्