युनाइटेडका प्रशिक्षकको निर्देशन – डिबक्स नजिक कदापि फउल नगर्नू


एजेन्सी / युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज म्यानचेस्टर युनाइटेड र स्पेनिस बार्सिलोना भिड्दैछन् ।

लिओनल मेस्सीको टिम बार्सिलोना र पछिल्लो समय नयाँ प्रशिक्षक ओले गुनर सोल्सारको नेतृत्वमा उत्कृष्ट लयमा रहेको युनाइटेडको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

खेलअघि युनाइटेडका प्रशिक्षक गुनरले बार्सिलोनाविरुद्ध उत्रिँदा आफ्ना खेलाडीलाई उच्च सावधानीसाथ खेल्न निर्देशन दिएका छन् । यतिसम्म कि, उनले खेलाडीलाई डिबक्स नजिक सकेसम्म फउल नगर्न भनेका छन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आज राति १२ः४५ बजेबाट सुरु हुँदैछ ।

डिबक्स नजिक प्रि किक पाएमा बार्सिलोनाका कप्तान मेस्सी घातक हुन सक्ने भन्दै गुनरले आफ्ना खेलाडीलाई त्यसबाट सजग रहनुपर्ने बताएका छन् । ‘पछिल्लो समय मेस्सीले फ्रि किकमा कतिसम्म गर्न सक्छन् भनेर पटक–पटक साबित गरेका छन् ।

हामी उनलाई यस्तो मौका यस खेलमा दिन चाहँदैनौं,’ गुनरले भने, ‘मैले मेरा खेलाडीलाई बक्स नजिक फउल नगर्न सजग गराएको छु । गुनरले यो बताएका छन् कि, युनाइटेडले बार्सिलोनाविरुद्ध खेल्दा सकेसम्म ट्याकल कम गर्न प्रयास गर्नेछ ।

जारी सिजन मेस्सीले सबैखाले प्रतियोगिता गरेर ४० खेलबाट ४३ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा ८ गोल गरेका छन् । यो सिजन उनले ७ गोल त फ्रि किबाट सोझै गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्