लिम्बुवान प्रान्त स्थापना नभएसम्म जस्तोसुकै आन्दोलन लड्न तयार : लिङ्देन

ताप्लेजुङ, चैत २७ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि आन्दोलन जारी रहेको बताएका छन् । लिम्बुवान प्रान्त स्थापना नभएसम्म संघीय लिम्बुवान मञ्च जस्तोसुकै आन्दोलन लड्न तयार रहेको पनि अध्यक्ष लिङ्देनले बताए ।

सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा बुधबार संघीय लिम्बुवान मञ्च नेपाल ताप्लेजुङको चौंथो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले निर्णायक आन्दोलनको तयारीमा रहेको पनि बताएका छन् । हालको प्रदेश १ लाई लिम्बुवान प्रान्त नामाकरण गर्नमा विभिन्न षड्यन्त्र भइरहेको बताउँदै उनले षड्यन्त्र विरुद्ध लिम्बुवान मञ्चले खबरदारी गरिरहेको बताए ।

लिम्बुवान प्रान्तका लागि लिम्बुवानबासी एक हुनुको विकल्प नरहेको पनि उनले बताएका छन् । लिम्बुवान भूमिको रक्षाका लागि लिम्बुवान मञ्चले सुरुदेखि नै लडाईं लड्दै आएको बताउँदै उनले लिम्बुवान प्रान्त घोषणा नभएसम्म लडाईं जारी रहने पनि बताए । अर्को प्रसंगमा अहिले भ्रष्टचार मौलाइरहेको अवस्थामा भ्रष्टचार विरुद्ध पनि लिम्बुवानको आन्दोलन भएको लिङ्देनले बताए । गाउँगाउँमा सिंहदरबारको अधिकार दिने नाउमा डरलाग्दो गरी भ्रष्टचार मौलाएको उनको भनाइ छ ।
यस्तै लिम्बुवान मञ्चकी नेतृ तथा प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले प्रदेश १ को नामाकरण गर्ने विषयमा गम्भीर षड्यन्त्र भइरहेको बताइन् । तुम्बाहाम्फेले षड्यन्त्रकाबीच कुनै पनि दिन प्रान्तको नामाकरण लिम्बुवान नभई अरु नै हुनसक्ने खतरा रहेको बताएकी छन् । त्यस्तै जिल्ला अधिवेशन उद्घाटन समारोहमा लिम्बुवान मञ्चका विभिन्न केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए भने कलाकारहरुको विभिन्न प्रस्तुति समेत रहेको थियो ।
यता अधिवेशनको बन्दसत्रले नयाँ जिल्ला कार्यसमिति चयन गर्ने संघीय लिम्बुवान मञ्चका जिल्ला इन्चार्ज भूपेन्द्र माबोले जानकारी दिए । माबोका अनुसार जिल्लाका विभिन्न गाउँबाट अधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरु आइसकेका छन् ।

प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्