ला लिगामा आज ४ खेल हुँदै, बार्सिलोना र हुएस्का भिड्दै

काठमाडौं, / स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज लिग लिडर बार्सिलोनाले लिगको २०औं स्थानको हुएस्काको घरेलु मैदानमा उत्रिँदैछ । खेल राति ठीक ८ बजेबाट सुरु हुनेछ ।

दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग ११ अंकको अग्रता बनाएको बार्सिलोना आज अवे मैदानमा दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिँदैछ । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले यस खेलमा केही प्रमुख खेलाडीले आराम पाउने पुष्टि गरेका छन् ।

आजको खेलमा बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी, लुइस स्वारेजलगायत प्रमुख खेलाडी हुनेछैनन् । त्यसैगरी, जेरार्ड पिके पनि आजको खेलमा हुनेछैनन् । मेस्सीलगायत टोलीका प्रमुख खेलाडीलाई ४ दिनपछि हुने च्याम्पियन्स लिगको खेलका लागि आराम दिइएको हो ।

आगामी मंगलबार बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो घरमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडसँग दोस्रो लेगको निर्णायक खेल खेल्दैछ ।

बार्सिलोना हाल ३१ खेलपछि ७३ अंक बनाएर लिगको पहिलो स्थानमा छ । हुएस्का भने समान ३१ खेलपछि २४ अंक बनाएर लिगको २०औं स्थानमा छ ।

आजको खेल जितेर बार्सिलोना उपाधि यात्रामा थप एक कदम अगाडि बढ्न चाहन्छ भने हुएस्का बार्सिलोनाको दोस्रो रोजाइको टिमलाई हराएर खातामा ३ अंक जोड्न दाउमा छ ।

लिगमा आजै अन्य ३ खेल पनि हुँदैछन् । जसमा अपराह्न ४ः४५ बजेटबा इसपान्योल र अलाभेस भिड्दा अर्को खेलमा राति १०ः१५ बजेबाट एथ्लेटिको मड्रिड र सेल्टा भिगो भिड्दैछन् । आजको अन्तिम खेलमा राति १२ः३० बजेबाट सेभिल्ला र रियल बेटिस खेल्दैछन् ।


प्रतिक्रिया दिनुहोस्