ताप्लेजुङको साँघुमा रङ्गशाला शिलान्यास

ताप्लेजुङ, बैशाख ३ गते । तप्लेजुङको मैवाखोला गाउँपालिकामा रङ्गशाला निर्माण कार्य सुरु गरिएको छ । प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट निर्माण गरिने रङ्गशालाको प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईले शिलान्यास गरेको हो ।

मैवाखोला गाउँपालिका केन्द्र (मुकाम) साँघुमा कुल ५२ रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश १ सरकारले एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । उक्त रकमको अख्तियारी समेत आइसकेको चालू आवभित्रै रङ्गशाला निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिनुभयो ।

रङ्गशालाको अन्य संरचना निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट थप सहयोगको अपेक्षा राखिएको अधिकारीले बताउनुभयो । प्रदेश सरकाारबाट प्राप्त बजेटको अख्तियारीअनुसार निर्माण हुने संरचनामा गाउँपालिकाले थप कार्य गर्ने अधिकारीको भनाइ छ । प्रदेश तथा सङ्घीय सरकारबाट रङ्गशालाको स्तरोन्नति सहितका कार्यमा थप रकम पाउने गाउँपालिकाले अपेक्षा राखेको पनि उहाँको भनाइ छ ।

निर्माण कार्य सुरु गरिएको रङ्गशालाको जग्गा नौ रोपनी निःशुल्क प्राप्त भएको र बाँकी ४३ रोपनी ३७ लाख ७५ हजार रुपियाँ खर्चिएर अधिग्रहण गरिएको मैवाखोला गाउँपालिका कार्यालयले जनाएको छ । जननेता मदन भण्डारीको जन्मस्थल भएकाले रङ्गशालाको नाम ‘मदन भण्डारी स्मृति रङ्गशाला’ राख्ने निर्णय भएको पनि कार्यालयले जानकारी दिएको छ । प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्