च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग खेल्ने डे जोङको चाहना,

एजेन्सी, / आयाक्सका युवा स्टार मिडफिल्डर फ्रेन्की डे जोङले आफूहरू च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग भेट भए मेरा लागि विशेष हुने बताएका छन् ।

बार्सिलोनाले आगामी समरमा क्याम्प नोउ उतार्ने २१ वर्षीय डे जोङलाई गत जनवरीमै सम्झौता गरिसकेको छ । यो सिजन सकिएसँगै उनी औपचािरक रूपमै बार्सिलोनाका खेलाडी हुनेछन् ।

डे जोङको टिम आयाक्सले च्याम्पियन्स लिगमा अहिले सनसनीपूर्ण प्रदर्शन गरिरहेको छ । उनीहरूले राउन्ड १६ मा रियल मड्रिड र अन्तिम आठमा युभेन्टसलाई हराएर सेमिफाइनल पुगिसकेका छन् । सेमिमा आयाक्सले इंग्लिस टोली टोटनह्याम प्रतिस्पर्धी पाएको छ ।

हालसालै ‘एफएफटी’सँग कुरा गर्दै डच खेलाडी डे जोङले आफूहरू फाइनल पुग्न सक्ने दाबी गरे । ‘हामी यतिबेला उच्च मनोबलमा छौं । हामी फाइनल पुग्न सक्षम छौं,’ डे जोङले भने, ‘त्यसका लागि सबथोक दिन तयार छौं ।’

‘फाइनलमा बार्सिलोनासँग भेट भए के गर्नुहुन्छ’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यो सिजनसम् आयाक्सको खेलाडी हुँ । तसर्थ, बार्सिलोनासँग च्याम्पियन्स लिगको फाइनल खेल्नु परे म आयाक्सकै खेलाडी भएर खेल्नेछु, म उपाधि जित्न चाहन्छु । डे जोङले अघि थपे, ‘बार्सिलोना र त्यहाँका खेलाडीप्रति मेरो सम्मान छ । तर, उनीहरूविरुद्ध खेल्न मलाई कुनै अप्ठेरो हुनेछैन ।

मसँग त्यही मानसिकता हुनेछ, जुन रियल मड्रिड र युभेन्टसविरुद्ध खेल्दा थियो । डे जोङलाई बार्सिलोनाले गत जनवरीमा ७५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्