रिना बस्नेतको सत्यतथ्य छानवीनको माग गर्दै निकालेको जुलुस; नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर, हत्या अभियोगमा एक जना पक्राउ

मोरङ / मोरङको पथरीमा शनिबार मृत अवस्थामा भेटिएकी २९ वर्षीया रिना बस्नेतको सत्यतथ्य छानवीनको माग गर्दै निकालेको जुलुस नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ ।

रिनाको मृत्युबारे सत्यतथ्य छानविन र दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलित बनेको स्थानीयले राजमार्ग बन्द गराउनुको साथै नगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलित बनेका स्थानीय र प्रहरीबीच झडप भएपछि प्रहरी हवाई फायर गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको छ ।

आन्दोलित भीड तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो । प्रहरीले रिनाको मृत्यु लडेर भएको प्रारभिक अनुसन्धानबाट देखिएको भनेपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले मृत्य नभई रिनाको हत्या भएको दावी गर्दै आएको छ ।

मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन संवाद गर्ने र भेट्ने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आइरहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पथरीमा व्यवसाय गर्दै आएका ती ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन् ।


प्रतिक्रिया दिनुहोस्