गर्भवती महिलालाई कुखुरा वितरण

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, बैशाख ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ ले वडाभित्रका सुनौलो हजार दिन आमालाई कुखुरा वितरण गरेको छ । वडा कार्यालयले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिममा रहेका सुनौनो हजारदिने आमाहरुलाई कुखुरा वितरण गरेको हो ।
लिङ्खिमभर पहिचान भएका एक सय जना सुनौलो हजारदिने आमामध्ये पहिलो चरणमा ५२ जनालाई प्रतिव्यक्ति पाँच वटाका दरले गिरिराज जातका कुखुराको चल्ला वितरण गरिएको छ ।

महिला गर्भवती भएदेखि बच्चा जन्मेर दुई वर्ष पुग्दासम्मको अवधिलाई ‘सुनौलो हजार दिने आमा’ भन्ने गरिएको छ । फक्ताङ्लुङ–३ लिङ्खिमका वडाध्यक्ष आइतराम लिम्बूले महिना दिनभित्र थप ४८ जना सुनौलो हजारदिने आमालाई कुखुरा वितरण गरिसक्ने जानकारी दिनुभयो ।

हाल वितरण गरिएका चल्लाबाट उत्पादन हुने अण्डाको प्रयोगले आमा तथा बच्चा दुवैको पोषण अवस्थामा सुधार आउनसक्ने भएकोले यो अभियान निकै प्रभावकारी हुने गाउँपालिकासँग प्राविधिक सहयोग सहकार्य गर्दै आएको सुआहारा कार्यक्रम÷वातावरण संरक्षण तथा विकास मञ्चका कार्यकारी निर्देशक अम्बिका हाङ्बाङले जानकारी दिनुभयो । पहिलो चरणको सुआहारा कार्यक्रमले जिल्लाका साविक ५० वटै गाविसका सुनौलो हजारदिने आमाको पहिचान गरी कुखुरा वितरण गरेको थियो । सुआहाराकै सिको गर्दै वडा कार्यालयले पनि गर्भवती महिला अर्थात सुनौलो हजारदिने आमालाई कुखुरा वितरण गरेको बताइएको छ ।

सन् २०१२ मा पहिलो पटक चल्ला वितरण गरिएपछि त्यसयता भने सुआहारा कार्यक्रमले पोषण र स्वास्थ्यको क्षेत्रमा समुदाय सचेतीकरणको कार्य मात्र गर्दै आइरहेको छ । अहिले दोस्रो चरणको सुआहारा कार्यक्रम सञ्चालनमा रहेको छ । गाउँपालिका तथा वडा कार्यालयसँग प्राविधिक सहयोग गरेको सुआहारा कार्यक्रमले त्यहाँ आमाको पहिचान गर्नेदेखि पोषण र स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउने योजनाका बारेमा समुदायका सदस्यलाई अनुशिक्षण गराउँदै आएको हाङ्बाङले जानकारी दिएनुभयो । उहाँका अनुसार चल्लाको उपयोगिताबारे सुआहारा कार्यक्रमका सामाजिक परिचालकले स्थानीय समुदाय सदस्यलाई नियमित जानकारी गराउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्