गरिबीको प्रतीक कोदो खाँदा क्यान्सर, मुटुरोग र मधुमेहबाट पनि जोगाउँछ,


काठमाडौँ  / भविष्यको स्मार्ट खानासमेत भनिएको कोदो खाँदा क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ, ।

कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । हामीलाई चाहिने प्रायस् सबै थोक यसमा हुने गरेको विज्ञहरू औंल्याउँछन् ।‘नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो । यसलाई कुअन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ ।

ढिँडोको रूपमा कोदो खानु अति नै फाइदाजनक मानिन्छ । रोटीको रूपमा खानु वा गहुँ, मकै आदि पिठोमा कोदोको पिठो मिसाएर रोटी लगायतका परिकार बनाउनुसमेत लाभदायक मानिन्छ ।

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुइटा कोदोका रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ । भारतमा कोदोले पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ ।

वस्तीका अनुसार, कोदो फलाम, क्याल्सियमजस्ता म्याग्नेसियम, फोस्फोरस र पोटेसियमजस्ता खनिजको समृद्घ स्रोत हो । यसमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ ।

फाइबरले भरिपूर्ण कोदोमा विभिन्न भिटामिन जस्तै बिटा क्यारोटिन, नियासिन, भिटामिन बी ६, फोलिक एसिड हुन्छन् । यसमा भएको लेसितिनको उच्च मात्राले स्नायु प्रणालीलाई बलियो बनाउन सघाउँछ । यसको उपयोगले कुपोषण हटाउन सकिन्छ ।

यसमा प्रशस्त मात्रामा पोलिफेनल्स, टयानिन, फाइटोस्टेरोल्स लगायतका फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ ।

हाम्रो मुलुकमा कोदोका दुई सयभन्दा बढी स्थानीय जात पाइन्छन् । यसको बीउ घरेलुस्तरमै करिब १० वर्षसम्म सुरक्षित राख्न सकिन्छ । मुलुकमा करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती हुन्छ ।

वार्षिक रूपमा करिब ३ लाख १५ हजार मेट्रिक टन कोदोको उत्पादन हुन्छ । मुलुकमा कोदो बाली लगाउने कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्यपहाडी जिल्लामा पर्छ ।

क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च आईआईएमआर, हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ । महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने, कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छरविषाक्तता हटाउँछ, श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांशपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ, पार्किन्सन्स रोग, मेटाबोलिक सिन्ड्रोम लगायतका थुप्रै डिजेनरेटिभ पुनर्निर्माण हुन नसक्ने रोगविरुद्घ सुरक्षा प्रदान गर्छ ।

कोदोमा रेसिस्टेन्ट स्टार्च, ओलिगोसेकेराइड, लिपिड, एन्टिअक्सिडेन्टजस्तो फेनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फ्लेभोन्वाइड्स, लिग्नस र फाइटेस्टेरोलजस्ता थुप्रै महत्त्वपूर्ण पोषकतत्त्व पाइन्छन् ।

कोदो मुटु रोगमा समेत अत्यन्त फाइदाजनक मानिन्छ । म्याग्नेसियम अत्यधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ ।

कोदोमा भएको पोटेसियमले‘वासोडिलेटर’अर्थात् सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम राख्न सहयोग गर्नुका साथै मुटु र रक्तनलीसम्बन्धी जोखिम कम गर्छ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ । कोदोमा उच्च मात्रामा पाइने रेशाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ ।

यसले एलडिएल कोलेस्ट्रोललाई कम गर्नुको साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । मधुमेह हुनबाट जोगाउन कोदोको उपयोग अत्यन्त फाइदाजनक देखिएको छ ।

यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र टयानिनले मधुमेहको खतरालाई कम गर्छ । किनभने यिनले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासि वृद्घिलाई मन्द पार्छ ।

पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।

यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ ।

कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ । यो फेनोलिक एसिड, टयानिन र फाइलेट प्रशस्त भएको खाद्यपदार्थ हो । हालै गरिएको अध्ययनले रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछन् ।

कोदो हाम्रो मुलुकका लागि फयुचर स्मार्ट फुड भविष्यको स्मार्ट भोजन रहेको जनाउँदै नेपाल कृषि अनुसन्धान परिषद् नार्क, जिन बैंकका वरिष्ठ वैज्ञानिक डा . बालकृष्ण जोशी भन्छन्, ‘यसलाई ढिँडोका रूपमा मात्र नभई मस्म, सेल रोटी, बिस्कुट, चाउचाउ र रोटी लगायतका आधुनिक परिकारका रूपमा पनि उपयोग गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्