ताप्लेजुङमा सञ्चालित आँखा शिविरमार्फत ४५ जनाको आँखा शल्यक्रिया

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङमा छुट्टाछुट्टै दुई स्थानमा सञ्चालित आँखा शिविरमार्फत मोतियाविन्दु भएका ४५ जना आँखाका विरामीको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक र पाथीभरा याङ्वरक गाउँपालिका केन्द्र थेचम्बुमा सञ्चालन गरिएको आँखा शिविरमार्फत उक्त सङ्ख्यामा विरामीको शल्यक्रिया गरिएको हो ।


सन् २०२० भित्र जिल्लाबाट नेत्रहीनको सङ्ख्या शुन्यमा झार्ने लक्ष्यसहित अभियान चलाई रहेको नेपाल नेत्र ज्योति सङ्घ तथा डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङद्वारा तेल्लोक र थेचम्बुमा सञ्चालित तीन दिनको शिविरमा ४५ जना मोतिया बिन्दुका बिरामीको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्र ज्योति सङ्घका जिल्ला सभापति मुक्तिराज पौडेलका अनुसार सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकमा सञ्चालित दुई दिने शिविरमा २४ जना मोतियाबिन्दुको र एक जनाको साधारण शल्यक्रिया गरिएको छ ।
उक्त शिविरमार्फत ३१५ जनाको आँखाको परीक्षण गरिएको पनि पौडेलले जानकारी दिनुभयो । यस्तै त्यस क्षेत्रमा तत्कालै देखिने आँखाका समस्या बाहेक अन्य जटिल प्रकृतिका आँखाका रोगी नपाएको पनि आँखा परीक्षण तथा मोतियाबिन्दुका बिरामीको पहिचान गर्ने कार्यमा खटिएका नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजी थेबेले बताउनुभयो ।
यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा सञ्चालित एकदिने शिविरमा २१ जना मोतियाबिन्दुका बिरामी र एक जनाको साधारण शल्यक्रिया गरिएको छ । बिहीबार सञ्चालित शिविरमा २६० जनाको आँखाको परीक्षण तथा उनीहरुलाई औषधि र चश्मा वितरण गरिएको थियो । उता पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले पालिकाभरका आँखाका बिरामीलाई उनीहरुलाई पायक पर्ने स्थानमा शल्यक्रिया सहितको शिविर राखेर सेवा प्रदान गर्नमा पाएकोमा प्रसन्नता प्रकट गर्नुभयो । शिविरमा नेत्र चिकित्सक डाक्टर इशा कार्की नेतृत्वको टोलीले शल्यक्रिया तथा आँखाको परीक्षण र उपचार गरेको थियो ।

प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्