च्याम्पियन्स लिग : आज टोटनह्याम र आयाक्स खेल्दै


काठमाण्डौ  / आज च्याम्पियन्स लिग प्रतियोगिता अन्तर्गत अन्तिम चारको पहिलो लेगमा दुई टोलीले खेल्दैछन् । जसमा, इंग्लिस टोली टोटनह्याम हटस्पर र डच क्लब आयाक्स भिड्नछन् ।

खेल टोटनह्यामको घरेलु मैदानमा नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । क्वार्टरफाइनलमा टोटनह्यामले लिग प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो भने आयाक्सले इटालियन क्लब युभेन्टसलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

आजको खेल निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । किनकी, मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोटनह्याम लामो समयपछि सेमिफाइनलमा पुगेको छ । यस्तै टोटनह्यामले आज घरेलु दर्शकको साथ पाउने छ ।

उसका लागि आजको खेलमा मुख्य खेलाडी ह्यारी केन उपलब्ध हुने छैनन् । उनी चोटका कारण आयाक्सविरुद्धको महत्त्वपूर्ण खेलमा उपलब्ध हुने छैनन् । तर, टोटनह्यामलाई डेले अली, सन हेङ–सन, क्रिस्टिएन एरिक्सनलगायत खेलाडीको साथ रहनेछ । यसै मौकालाई सदूपयोग गर्दै आज ऊ घरेलु मैदानमा आयाक्सलाई पछार्दै अघिल्लो चरणमा जाने बाटो सहज बनाउने योजनामा छ ।

आयाक्सविरुद्ध जित निकाल्न टोटनह्यामलाई त्यति सहज भने छैन । किनकी, यस सिजनको च्याम्पियन्स लिगमा जोश र उच्च मनोबल रहेको आयाक्स पनि कमजोर टिम भने होइन । आयाक्स पनि पछिल्लो समय उच्च लयमै छ ।

आयाक्समा पनि फ्रेन्की डी जोङ जस्ता जोसिला खेलाडी रहेका छन् । जो केही समयपछि स्पेनिस क्लब बार्सिलोनासँग जोडिँदैछन् । यस्तै आयाक्समा डुसान टेडिक, डेभिड नेरेश जस्ता भरोसावान खेलाडी रहेका छन् ।

उसले च्याम्पियन्स लिगअन्तर्गत नै रियल मड्रिडलाई उसैको घरेलु मैदानमा पछारेको थियो । अन्तिम १६ मा आयाक्सले पछिल्ला तीन सिजन लगातार च्याम्पियन्स लिग जितेको स्पेनिस रियल मड्रिडविरुद्ध सनसनीपूर्ण कमब्याक जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

यस्तै उसले अन्तिम आठमा युभेन्टसलाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो । सोही मनोबल र जोश लिएर आयाक्स आज टोटनह्यामविरुद्ध उत्रनेछ ।


प्रतिक्रिया दिनुहोस्