नेपालकै सर्वाधिक जेष्ठ नागरिक ११७ वर्षिय बाटुली सम्मानित

काठमाडौं ,बैशाख । नेपाल निजामति कर्मचारि संगठन, केन्द्रीय समितिले नेपालकै सर्वाधिक जेष्ठ नागरिक बाटुली लामिछानेलाई सम्मान गरेको छ । संगठनले यस वर्षको मातातिर्थ औंशिको दिन पारेर अभिनन्दन पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ८ स्थित लामिछानेको घरमै पुगेर कर्मचारि संगठनले एक विशेष कार्यक्रमका बिच सम्मान गरेको थियो । नागरिकता अनुसार लामिछानेको जन्म १९५९ चैत्र १० गते सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा भएको थियो । प्राकृतिक विपद् र जीवनवृत्तिमा चरम अभावका कारणले नुवाकोटमा बसाईँ सर्न बाध्य भएको लामिछाने परिवारले बताएको छ ।
उक्त सम्मान कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष–केदार प्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष–लेखनाथ कोइराला, महासचिव– रेवन्त गौतम, उपाध्यक्ष तथा महिला विभाग प्रमुख– भवानी दाहाल (न्यौपाने), ककनी गाउँपालिका अध्यक्ष– मानबहादुर लामा, उपाध्यक्ष– सीता खतिवडा लामा, ककनी गाउँपालिकाकै ८ नम्बरका वडाध्यक्ष– शेषमान लामा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सम्मान गर्ने क्रममा कर्मचारी संगठनको तर्फबाट पलङ, डसना, तन्ना, झुल, व्लाङ्केट, साडी सेट, हर्लिक्स, डाइपर, विस्कुट, मिठाइ लगायत विभिन्न सामाग्रिहरु हस्तान्तरण गरिएको थियो । सोही क्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुले आ–आफ्नो गच्छे अनुसार नगद दिएर लामिछानेको दिर्घायुको कामना सहित नमन गरेका थिए । बाटुली लामिछानेको दैनिकीमा सहजता होस् भन्ने हेतुले कर्मचारि संगठनकै केन्द्रीय महिला विभाग, ककनी गाउँपालिकाका प्रतिनिधि तथा पत्रकारहरू सहितको गत साताको भेटमै बाटुली लामिछानेलाई एक÷एक थान ह्वील चेयर र झुल उपलव्ध गराइएको थियो ।

भवानी दाहाल प्रमुख रहेको महिला विभागको बैठक बसेर केन्द्रीय समितीलाई आह्वान गरेपछि कर्मचारी संगठन लामिछानेलाई अभिनन्दन गर्न सक्रिय बनेको थियो । महिला विभागका सचिव कमला खड्का, सदस्य देवी पराजुली, कमला दाहाल, टिका केसी, सरस्वती धिमाल, निमा धिमाल, गोमा घिमिरे, राधा आचार्य, कल्पना पाण्डे लगायतको पूर्ण सामूहिक सहभागिताले उक्त सम्मान कार्यक्रम जेष्ठ नारीप्रतिको श्रद्धा र सम्मानमा गौरवपूर्ण बनेको सहभागिहरुले बताएका छन् । महिला विभाग प्रमुख दाहालका अनुसार देशकै जेष्ठ नागरिक त्यसमा पनि महिला भएको हुनाले आमाको मुख हेर्ने दिन पारेर उक्त सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गरिएको हो ।

यसैगरि गाउँपालिका र कर्मचारी संगठनका केन्द्रीय पदाधिकारीहरु लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई बाटुली लामिछानेको घरसम्म पु¥याएर अभिनन्दन गर्ने वातावरण सिर्जना गर्न पत्रकार तथा साहित्यकार–सगोत्री आचार्यले मुख्य भुमिका खेलेको भन्दै लामिछाने परिवारले पत्रकार आचार्य सहित, अमित प्रधानाङ्ग, श्रीराम श्रेष्ठ लगायत सहभागी सम्पूर्ण सञ्चारकर्मी मित्रहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा बाटुली लामिछानेको जीवनवृत्तिमा थप सहजता होस् भन्ने अभिप्रायले ककनी गाउँपालिकाको तर्फबाट मासिक दश हजार दिने औपचारिक घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष, मान बहादुर लामाका अनुसार आगामि जेष्ठ ४ गते उद्घाटन हुने ककनी कृषि मेलामा स्थानिय सरकारको तर्फबाट ककनी गाउँपालिका भित्रका ९० वर्ष माथिका सबै नागरिकहरूलाई प्रतिव्यक्ति जनही २५ हजार रुपैँया हस्तान्तरण गरिँदैछ ।


प्रतिक्रिया दिनुहोस्