प्रधानमन्त्री ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौँ २८ बैशाख / सरकारको नीति तथा कार्यक्रमाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएका छन्। सभामुख कृष्णबहादुर महराले शुक्रबार गैर संसदीय शब्द हटाउन रुलिङ गरेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ओलीले २४ वैशाखको बैठकमा विपक्षीहरुलाई जबाफ दिनेक्रममा ‘आक्रोस, कुण्ठा र निम्छरा’ शब्द प्रयोग गरेका थिए। जसको कांग्रेसले चर्को प्रतिवाद गरेको थियो।

बैठकको सुरुमै सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रयोग भएका शब्दबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै अभिलेखबाट हटाउन सहसचिवलाई निर्देशन दिएका थिए।

नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर जवाफ प्रस्तुत गर्छु’ भनेपछि संसदमा हंगामा भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्