ताप्लेजुङ समाज नेपालद्धारा ७० जनालाई उच्च शिक्षा छात्रबृति प्रदान

अरुणपोष्ट संवाददाता
ताप्लेजुङ,बैशाख २९ । ताप्लेजुङ समाज–नेपालले यहाँको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा अध्यनरत ७० जना बिद्यार्थीहरुलाई बार्षिक शुल्क व्यहोर्नेगरीको छात्रबृति प्रदान गरेको छ ।

समाज ताप्लेजुङबाट पेशा–व्यवसायको सिलसिलामा राजधानी काठमाडौ पुगेकाहरुले स्थापना गरको संस्था हो । यस्तै संस्थाको रुपमा ताप्लेजुङ सरोकार केन्द्र पनि रहेको छ । आईतवार बिहान पाथीभरा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममार्फत समाजले ५० जना बिद्यार्थीलाई छाबृति स्वरुप जनही ९ हजार ५५० रुपैंयाका दरले रकम हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे,तत्कालीन संबिधानसभाका सदस्य पासाङ शेर्पा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेल लगायत क्रियाशिल राजनीतिक दलका अगुवा तथा नागरिक समाजका प्रतिनिधिको उपस्थितिमा छात्रबृति रकम प्रदान गरिएको छ ।

यो क्याम्पसमा स्नातक तह अध्यन गर्ने बिद्यार्थीको मासिक शुल्क व्यहोर्ने गरी एकमुष्ट रुपमा बार्षिक छात्रबृति प्रदान गरिएको समाजका महासचिव अग्नि पौडेलले जानकारी दिनुभयो । उहाँले स्नातक तह पूरा गर्ने गरी बार्षिक रुपमा यस्तो छात्रबृति दिने र अहिले छात्रबृति पाउनेलाई निरन्तरता दिदैं केहिलाई थप गर्ने समाजको योजना सुनाउनुभयो । समाजद्धारा स्थापित छात्रबृति कार्यदल संयोजक इन्द्र शेर्पाले आफुले अध्यनका क्रममा रकमको अभावले उसिनेका आलुमा कापीका पन्ना साटेर पढेको स्मरणमा बिपन्नतका कारण पढाईलाई निरन्तरता दिनमा आउनेमा समस्या निवारणका लागि छात्रबृति प्रदान गरिएको जानकारी दिनुभयो ।

आर्थिक अभावले पढाईलाई निरन्रता दिन मुस्किल पर्नेहरुलाई यो छात्रबृति सानै भएपन सहयोगी बन्ने उहाँले बिश्वास लिनुभयो । समाजका उपाध्यक्ष युवराज गुरुङका अनुसार समाजका आबद्ध मध्ये एकले कम्तिमा १ जना र बढीमा ५ जना सम्मलाई छात्रबृति सहयोग गरेको जानकारी दिनुभयो । समाजले सोमवार सिरीजङ्घा गाउँपालिकाको वडा नं १ सिनाममा अवस्थित सिनाम माविका २० जना बिद्यार्थीलाई समेत छात्रबृति प्रदान गर्ने समाजका अर्का उपाध्यक्ष रमेश बरालले जानकारी दिनुभयो ।

२०४७ सालमा स्थापना भएको पाथीभरा बहुमुखी क्याम्पस जिल्लाकै जेठो क्याम्पस हो । २०५८ सालबाट स्नातक तह सुरु भएको यहाँ सुरुका दिनमा मानविकी संकायमा मात्र पढाई हुने गरेकोमा २०६२ सालदेखि शिक्षा सास्त्र संकाय र २०६६ सालदेखि व्यवस्थापन संकाय समेतको पढाई हुदै आएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख मोहनकुमार राईका अनुसार शैक्षिक बर्ष २०७५।०७६ सालदेखि शिक्षासास्त्र संकायमा स्नातकोत्तर(डिग्री)तहको पढाई हुदै आएको यहाँ स्नातक तहमा ५ सय ५० जना र स्नातकोत्तर तहमाा ५३ जना बिद्यार्थी अध्यन गरिरहेका छन् ।

२४ जना अध्यापक र ५ जना कर्मचारी गरी जम्मा २९ जना जनशक्ति कार्यरत रहेको पाथीभरा क्याम्पस सुरुमा दाता–दातब्यको सहयोगबाट स्थापित भएको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो । क्याम्पसमा छात्रबृतिका लागि १ सय ४२ जनाले आबेदन दिएकामा जेहेन्दार,अनुशासित,क्याम्पसप्रति सदैव उत्तरदायी,बिपन्न र टाढाको भूगोलबाट आएर पनि शैक्षिक क्षेत्रमा महत्वपूर्ण लगाव भएका बिद्यार्थीलाई छात्रबृतिका लागि छनौट गरिएको पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङ्ले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्