पाँचथरमा ९ जनाको हत्या, १२ वर्षीया बालिका भागेर बाच्न सफल (मृतकको नामसहित)

पाँचथर ७ बैशाख / पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

धनराजको परिवारका ५ जनाको हत्यापछि शव घर भित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घर भित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले घट्नाको पुष्टि गर्नुभयो ।

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।

घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली विहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल तर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्नास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली समेत घट्नास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घट्नास्थलमा पुगिसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्