शिक्षक र कर्मचारी पनि नेकपाको जिल्ला कमिटीमा

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, जेठ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ताप्लेजुङ जिल्ला कमिटीमा शिक्षक र कर्मचारी पनि रहेका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाको जिल्ला कमिटी सदस्यमा शिक्षक र कर्मचारी समेत परेका छन् ।

सदरमुकाम फुङ्लिङमा बिहीबार नवगठित जिल्ला कमिटीलाई नेकपाका स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश कमिटीका इन्चार्ज भीमप्रसाद आचार्यले सपथग्रहण गराउनुभएको छ । सपथग्रहण कार्यक्रममा सार्वजनिक गरिएको जिल्ला कमिटीको नामावली अनुसार शिक्षक र कर्मचारीहरु जिल्ला कमिटीमा रहनुभएको छ । कुल एक सय ३७ सदस्यीय जिल्ला कमिटीमा शिक्षकको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ भने केही स्थानीय तह लगायतमा कार्यरत कर्मचारी समेत रहेका छन् ।
नेकपा जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाउने शिक्षकहरुमा प्राथमिक तह, आधारभूत र माध्यमिक तहसम्मका रहनुभएको छ । जिल्ला कमिटीमा पर्ने शिक्षक, कर्मचारी सबैले कार्यक्रममा सहभागी भएर सपथग्रहण गर्नुभएको छ । यता पहिलेका जिल्ला कमिटी सदस्य तथा स्थानीय तहका प्रमुखहरु समेत नवगठित जिल्ला कमिटीमा नसमेटिएकाले असन्तुष्टि समेत देखा परेको छ । स्थानीय तहमा पार्टी इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी दिइएकालाई दोहोरो जिम्मेवारी दिएर जिल्ला कमिटीमा ल्याइएको तर, सङ्गठनमा लामो समय योगदान गरेकाहरुलाई छुटाइएकोभन्दै आक्रोस पोख्नेहरु पनि छन् ।
पूरानो जिल्ला कमिटीमा रहेका र हालको जिल्ला कमिटीमा नपर्नेमा पफुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँबा, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई (तारा), सिदिङ्बा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङ रहनुभएको छ । यस्तै श्रीमान् र श्रीमती, एकैघरका दाजुभाइ र धेरै कनिस्ठलाई समेत जिल्ला कमिटीमा राखिएकाले पनि असन्तुष्टि पैदा भएको पाइएको छ । नौ स्थानीय तह रहेको जिल्लाका ६१ वटा सबै वडालाई समेत नसमेटिएको बताइएको छ ।
यसैगरी नेकपाको जिल्ला कमिटी नामावलीअनुसार महिलाको सङ्ख्या पनि निक्कै न्युन रहेको छ । कमिटीको कुल सङ्ख्यामध्ये महिलाको सङ्ख्या २२ रहेको छ । यता जिल्ला कमिटीमा नअटेकाहरुलाई सल्लाहकार परिषद्, निर्वाचन क्षेत्र समन्वय कमिटी लगायत विभिन्न विभागीय जिम्मेवारीमा समेटिने नेकपाले जनाएको छ । जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी तत्कालीन माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेम र सचिवको जिम्मेवारी एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले पाउनुभएको छ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश इन्चार्ज आचार्यसहित नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई, प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई, केन्द्र सदस्यहरु टङ्क आङ्बुहाङ, भास्कर काफ्ले, तिलकुमार मेन्याङ्बो लगायतले जिल्ला कमिटीलाई शुभकामना दिनुभएको थियो । सपथको कार्यक्रमसँगै केही महत्वपूर्ण निर्णय गर्दै नवगठित जिल्ला कमिटीको प्रथम बैठक समेत सम्पन्न भएको जिल्ला अध्यक्ष वनेमले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्