पर्यटन प्रवद्र्धनका लागि शहीद पार्क निर्माण गरिने

ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बृहत शहीद पार्क निर्माण गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन साथै देशका लागि बलिदान दिनेहरुको स्मृतिमा विभिन्न संरचनासहित बृहत शहीद पार्क निर्माण गरिने भएको हो ।

सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण गर्न लागिएको उक्त पार्कको पूर्व पर्यटनमन्त्री भीमप्रसाद आचार्यले बिहीबार शिलान्यास गर्नुभएको छ । शहीद पार्कको शिलान्याससँगै स्थानीय उपभोक्ता समितिमार्फत निर्माणको विभिन्न काम हुने भएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री आचार्यले शहीद पार्कको निर्माणले ताप्लेजुङको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका आचार्यले विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरा लगायतका स्थल रहेको पर्यटकीय जिल्लाको पर्यटन प्रवद्र्धन साथै विकासमा शहीद पार्कले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिनुभएको छ । यस्तै देशका लागि बलिदान गर्ने शहीदहरुको सम्मानमा समेत शहीद पार्कले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यस्तै नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले पर्यटनको प्रशस्त सम्भावना बोकेको ताप्लेजुङ जिल्लालाई शहीद पार्क निर्माणले पर्यटन विकासमा थप सघाउ पु¥याउने बताउनुभयो । बृहत योजना बनाएर थुप्रै संरचनाहरुसहितको शहीद पार्क निर्माण गर्नेगरी गरिएको परिकल्पनालाई पूरा गर्न निर्माण समिति लगायत सरोकारवाला सबै सक्रिय भएर लाग्नुपर्ने नेता भट्टराईले बताउनुभयो । पार्क निर्माण गर्नलाई आवश्यक बजेट व्यवस्था गर्नका लागि आपूmले समन्वय गर्ने र बजेट कमी हुन दिनु नहुने पनि उहाँको भनाइ छ ।
यता शिलान्यास भएसँगै शहीद पार्कको निर्माण कार्य औपचारिक रुपमा प्रारम्भ भएको पार्क निर्माण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार शहीद पार्क निर्माणका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश १ सरकारले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित रकमबाट काम गर्नेगरी समितिले १ नं. प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्झौता समेत गरिसकेको छ ।
प्रदेश सरकारसँग सम्झौता भएसँगै यस आवभित्र प्राप्त रकमले पार्क निर्माणस्थलमा करिव एक सय ५० मिटर लम्बाइको घेराबारको कार्य गरिने शहीद पार्क निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष खेलप्रसाद बुढाक्षेत्रीले बताउनुभयो । उक्त घेराबारको लागि डीपीआर तयार भइसकेको अध्यक्ष बुढाक्षेत्रीले जानकारी दिनुभयो । यो वर्षदेखि सुरु भएको पार्क आगामी तीन वर्षभित्र बिशाल संरचनासहित शहीदपार्क निर्माणको सम्पन्न गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो ।

समिति अध्यक्ष बुढाक्षेत्रीका अनुसार भ्यूटावर, शहीद स्तम्भ, पिकनिक स्थल, लाइब्रेरी, जातीय तथा धार्मिक सद्भाव बढाउने मठमन्दिर तथा गुम्बा, संग्रहालय र प्राकृतिक क्षेत्रमा केही कृतिम संरचनासहितका पूर्वाधारहरु निर्माण गरिने छ । साँच्चिकै सबैको साझा, घुम्न र हेर्न लायक शहीद पार्क निर्माण हुने उहाँले बताउनुभयो । शहीद पार्क सिङ्गो देशकै लागि योगदान गर्ने ताप्लेजुङका शहीदहरुको सम्मानका लागि समेत एउटा पहिचानको स्थलका रुपमा स्थापित गर्नेगरी योजना बनाइएको उहाँको भनाइ छ ।
प्राकृतिक रुपले सुन्दर र जैविक हिसाबले महत्वपूर्ण मानिने यस क्षेत्रमा निर्माण गर्न लागिएको पार्कभित्र रहने भ्यूटावरबाट वरिपरि देखिने मनोरम हिमश्रृङ्खलाहरु, छिमेकी पाँचथर, तेह्रथुम, संखुवासभासहितका जिल्लाका भूगोललाई नियाल्न सकिने पार्क निर्माण तथा व्यवस्थापन समितिको विश्वास छ । पार्क निर्माण क्षेत्रमा रहेको प्राकृतिक गुफालाई व्यवस्थापन गरेर साथै अन्य कृतिक संरचनाहरु थप गरेर पर्यटक तथा सबैको मन जित्ने खालको स्थलको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको पनि समिति अध्यक्ष बुढाक्षेत्रीले बताउनुभयो ।

उहाँकाअनुसार यहाँको धार्मिक, सांस्कृतिक तथा जातीय मौलिकता प्रदर्शन गर्ने उद्देश्यले बनाइने संग्रहालय अर्को आकर्षणको केन्द्र हुने छ । बिभिन्न सम्पदाको दृश्यावलोकन गर्दै पिकनिक (वनभोज) मा रमाउनेहरुका लागि पनि अत्यन्तै आकर्षक केन्द्र हुने उहाँको भनाइ छ । यसअघि आव २०६५÷६६ देखि नै शहीदपार्क बनाउने परिकल्पना गरिएकोमा १० वर्षपछि अर्थात यो वर्षमात्रै पार्क निर्माणको कार्य प्रारम्भ भएसँगै परिकल्पनाले सार्थकता पाएको उहाँले टीप्पणी गर्नुभयो । प्रयास लिम्बू



प्रतिक्रिया दिनुहोस्