बैंकका कर्मचारीमाथि गोली हानेर रकम लुटियो

धरान १२ बैशाख / धरानको जीवन विकास बैंकका कर्मचारी माथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार भएको छ । बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार रकम लिएर बैंक जाने क्रममा अज्ञान व्यक्तिले बैंक अगाडी गोली प्रहार गरेको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गच्छदारको अहिले उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटरमा आएका दुई जनाले उनीसँग भएको रकम लुट्न गोली प्रहार भएको प्रहरीको आंशका छ ।गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । एसपी अधिकारी अहिले धरान आइरहेका छन् भने घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ ।

घटनापछि धरान र आसपासको नाकामा कडाई गरिएको छ । ‘गोली चलाएको भन्ने अपुष्ट खबर आएको थियो । कुहिनामा चोट लागेको भन्ने छ । घटनामा डिएसपी सापको टोली गएको छ, म आफै पनि धरान आउदैछुँ,’एसपी अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस्