मातृभाषा तथा लिपी संरक्षणको अभियानमा तेह्रथुमका लिम्बु समुदाय

काठमाडौँ जेठ १५ / पछिल्लो समय विदेशी भाषाको दबदबा र मातृभाषाप्रतिको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका बेला तेह्रथुमका जिल्लामा भने आफ्नो भाषा नै लोप हुने अवस्था आउन थालेपछि तेह्रथुमका लिम्बु समुदाय मातृभाषा तथा लिपी संरक्षणको अभियानमा लागेका छन् ।
मातृभाषाको अस्तित्व बचाउनुपर्ने भन्दै तेह्रथुमका लिम्बु समुदायहरु आफ्नो मातृभाषा तथा लिपी सिक्न थालेका छन् ।

घरमा बोलिने भाषा पहिलो भाषा भए पनि अन्य भाषाको प्रभावले ओझेलमा परेको श्रीजंगा लिपीको संरक्षण गर्नकोलागि लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले प्रयास गरेको छ ।

सोही संस्थाले केही दिनअघि कार्यक्रम आयोजना गरी किरात श्रीजंगा लिपीको स्वर वर्ण, व्यञ्जन वर्ण, ब्याकरण, शब्दार्थ, गणितिय संख्या लगायतका बिषयवस्तुमा प्रशिक्षण दिएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनमा मातृभाषाबाट शिक्षा लिन पाउने अधिकार उल्लेख भए पनि त्यसको व्यावहारिक कार्यान्वयन भने हुन सकेको छैन ।

आफ्नो अस्तित्व र जातीय पहिचान झल्किने आफ्नै श्रीजंगा लिपी सिक्न पाउँदा सहभागीहरु उत्साहित देखिन्थे ।

लिम्बु जातीको बाहुल्यता रहेकोे तेह्रथुममा लिम्बुको मात्र ४२ प्रतिशत जनसंख्या छ ।

किरात सभ्यताअन्र्तगत आफ्नै भाषा, लिपी, सस्कार ,संस्कृति रहेको लिम्बु जाती पूर्वको तेह्रथुम लगायत पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा र ईलाममा सघन बसोबास गर्दै आएका छन् ।

मौलिक भाषा, संस्कार र संस्कृतिलाई मास्नु भनेको आफ्नै पहिचानमाथि प्रहार गर्नु पनि हो ।कतिपय विकृति र कुसंस्कृतिलाई सुसंस्कृत र अझ उन्नत बनाउँदै आफ्ना मौलिक सभ्यतालाई बचाउन सबैजना सचेत बन्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्