बेचिएकी चेली भारत बाट १७ वर्षपछि घर फर्किइन्

कञ्चनपुर  २१ चैत / भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी तारा कामीले आफू घर फर्कने कल्पना समेत गरेकी थिइनन् । विसं २०५८ मा पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत दलालहरूले नशालु पदार्थ खुवाएर पुर्याएर बेचेका थिए ।

यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे’ ३२ वर्षीया ताराले भनिन्, “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।
डेढ वर्षसम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन’ उनले भनिन् । भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै घरजम गरेकी छन् । अहिले १५ वर्षको छोरो छ ।

सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो’ ताराले भनिन्, ‘छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ । यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ’ उहाँले गहभरि आँशु पार्दै भनिन्, “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।
उनले भनिन्, अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।

घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनले बताइन् । उहाँका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन छ । “धनीले किनेर विवाह गर्छन्, गरिब भए विवाह नै हुँदैन” उनले सुनाइन् ।
ताराकी आमा वीरमा कामीले भने छोरी अब जीवित छैन भनेर माया मारिसकेको सुनाइन् । उनले भनिन्, भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ । स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् । तीन जनाको अवस्था अज्ञात छ ।


प्रतिक्रिया दिनुहोस्