सुस्तश्रवण बालबालिकालाई पोशाक वितरण

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकामस्थित अपाङ्ग बाल आवास गृहमा रहेका सुस्तश्रवण (फरक क्षमता भएका) बालबालिकालाई पोशाक वितरण गरिएको छ । सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–४ को बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शनिबार ट्र्ेकसुट र स्वेटर कपडा वितरण गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङले अपाङ्ग बाल आवास गृहमा रहेका २४ जना सुस्तश्रवण बालबालिकालाई कपडा वितरण गरेको हो । २४ औं सामुदायिक वन उपभोक्ता दिवसको अवसरमा सुस्तश्रवण बालबालिकालाई कपडा वितरण गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । सुस्तश्रवण बालबालिकाको पढाइ र स्वास्थ्य सुधारममा सहयोग पुगोस् भन्न उद्देश्यले न्यानो कपडा वितरण गरिएको ओझाले बताउनुभयो ।

फुङ्लिङ नगरपालिका–५ डाँडागाउँमा रहेको अपाङ्ग बाल आवासगृह परिसरमै आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, फेकोफनका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा, नेकपाका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत जीवनकुमार यादव लगायतले बालबालिकालाई कपडा वितरण गर्नुभएको थियो ।

बालमन्दिरमा फरक क्षमता अर्थात बोली नआउने, कान नसुन्नेजस्ता समस्या भएका बालबालिकाहरु कक्षा १ देखि ५ सम्म अध्ययनरत रहेका शिक्षिका हाङ्माया लिम्बूले जानकारी दिनुभयो । सङ्केत र इशाराका आधारमा कक्षा चलाउनुपर्ने भएकाले उनीहरुलाई पढाउन निक्कै कठिन रहेको शिक्षिका लिम्बूको भनाइ छ । कार्यक्रममा सशस्त्र प्रहरी बल १ नम्बर कञ्चनजङ्घा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणि ढकाल, फुङ्लिङ–५ की वडाध्यक्ष भीमादेवी ओझा, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

इखाबुका विद्यार्थीलाई टिफिन बक्स वितरण

यसैबीच केही समयअघि जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिन बक्स (खाजा बोक्ने भाँडा) वितरण गरिएको छ । विद्यार्थीलाई नियमित गराउने उद्देश्य राखेर यस क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो । इखाबुमा रहेका दुई माध्यमिकसहित सात वटा विद्यालयमा अध्ययनरत करिव ५५० जना बिद्यार्थीलाई रिड नेपाल नामक संस्थाले अढाइ लाख रुपियाँ खर्चिएर टिफिन बक्स वितरण गरेको हो ।
विद्यालयमा बिहान कक्षा सुरु हुँदा कोठाभरी रहने विद्यार्थी दिउँसो टिफिनको समयपछि ह्वात्तै घट्ने गरेको पाइएपछि विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको बताइएको छ । दिउँसो टिफिन समयपछि विद्यार्थी घरमा खाजा खान जाने गरेका र त्यसपछि उनीहरु विद्यालय नआउने गरेको पाइएकाले दिवा खाजा विद्यालयमै लिएर आउनलाई सहज हुनेगरी टिफिनबक्सको योजना अघि सारिएको रानी आधारभूत विद्यालय इखाबुका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयो । टिफिनबक्स वितरण गरेसँगै यस्तो योजना लागू गरेपछि हाल विद्यार्थी बिहान १० बजेदेखि विद्यालय विदा हुने समय दिउँसो ४ बजेसम्म नै रहन थालेका प्रधानाध्यापक खतिवडाले बताउनुभयो ।

प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्