तीन कलाकारसहित ३२ नेपाली पक्राउ परेको पुष्टि

मलेसिया । इदको अवसर पारेर मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा नेपालबाट आएका ३ कलाकारसहित ३२ जना पक्राउ परेको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले हिजो अध्यागमन कार्यालय पुगेर पक्राउ परेका नेपालीको स्थिति बुझेको थियो ।

तीन दिनअघि आयोजित सांगीतिक कार्यक्रममा अध्यागमनले छापा मारी नेपालबाट आएका तीन कलाकारसहित आयोजक र मलेसियामै रहेका नेपालीहरु पक्राउ परेका थिए । तर, कति पक्राउ परे भन्ने यकिन भएको थिएन । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट आएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन ।

मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।

कार्यक्रम स्थलमै प्रहरीले छापा मारेपछि उपस्थित दर्शकहरु त्रसित बनेको थियो ।

मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ । तर, आयोजकले अनुमति नलिएका कारण अध्यागमनले छापा मारेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्