गुठी विधेयकको विरोध गर्नेमाथि पानीको फोहोरा र धरपकड

काठमाडौं, २६ जेठ / माइतीघर मण्डलामा गुठी विधेयकको विरोध गर्दैै प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहोरा हान्नुका साथै धरपकड गरिएको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै पक्राउ गरेको हो । गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकविरुद्ध प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । उक्त विरोध कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न प्राचीन गुठीका गुठियारहरुको सहभागिता थियो ।

प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन् । गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन् । विधेयक संविधान विपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ ।

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन् । परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्