तेस्रो आदिबासी चलचित्र महोत्सवमा लिम्बु चलचित्र “के” उत्कृष्ट

काठमाडौं २७ जेष्ठ। तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सवमा लिम्बु चलचित्र “के” उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६” मा दुइ दर्जन धेरै विभिन्न समुदायको सँस्कार र संस्कृतिमा आधारित चलचित्रहरुलाई पछाडी पार्दै लिम्बु संस्कार संस्कृतीमा आधारित चलचित्र ”के”ले प्रथम स्थान सहित उत्कृष्ठ अवार्ड हात पारेको हो ।

यस चलचित्रमा किराँत लिम्वूहरुको सँस्कार र संस्कृतिमा आधारित मौलिक बाजा च्यावु्रङको महत्व र यो बाजा निर्माण गर्नका लागि आवश्यक सामग्री जुटाउन हुने गरेको कानूनी अड्चन र समस्याको कथा चलचित्र “के” मा समेटिएको छ ।

सागर केरुङको लेखन तथा निर्देशनमा तयार पारिएको चलचित्रमा इसन केरुङ र बुद्धराज लिम्बूको निर्माण, प्रेम पन्दाकको संगीत, सुनिता सुब्बाको स्वर, सञ्जय आचार्यको छयाङ्कन , मधु केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सन्देश सुब्बा, डिआर हाङ्सरुम्बा, आर।के। थेबे , अप्सरा नेउपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाल लगायतले अभिनय गरेका छन् ।


यो चलचित्र पाँचथरका विभिन्न स्थानमा छायांकन गरिएको थियो । त्यसैगरि २० वटा चलचित्र मध्येबाट बिभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङ र उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले उपाधि हात पारे ।

त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र “रिजेनासा”ले प्राप्त गरेको छ । सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टराईले प्रदान गरेका थिए । उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजित राई लगायतले बधाई तथा शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्