द भोइस अफ नेपाल सिजन–२ को नयाँ कोचमा आस्था राउत र राजु लामा

हिमालय टेलिभिजनबाट प्रसारण हुने द भोइस अफ नेपाल सिजन–२ मा दुई जना कोच परिवर्तन भएका छन्। चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत सिजन–२ को कोचका रुपमा भित्रिएका हुन्। उनीहरुसँगै दीप श्रेष्ठ र प्रमोद खरेलसहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका हुन।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिँदै भने,‘युवा पुस्ताका चर्चित अनुहारहरुलाई हामीले कोचका रुपमा भित्राएका छौं’त्यसैले उहाँहरुको ‘नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन योगदान महत्वपूर्ण हुनेछ।’

सिजन २ को ब्लाइन्ड अडिसनको सुटिङ आगामी बुधबारबाट सुरु हुँदैछ। झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएका हुन्। यसको प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे हुनेछ। हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भोइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स छ भने सहप्रायोजकमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुपले साथ दिएका छन्। भोटिङ तथा पेमेन्ट पार्टनरका रुपमा प्रभु–पे अनुबन्ध भएको छ। केएनपी जापान पेन्ट्स र हिमालय हर्बल सहायक प्रायोजकको रुपमा रहेका छन्।

सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रायोजनसम्बन्धी सम्झौतामा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र प्रायोजकहरुबीच हस्ताक्षर भएको हो।

‘विश्व नम्बर एक गायन रियालिटी सो भोइसको टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी लागेको कार्यकारी निर्देशक कँडेलले बताए। नेपाली संगीतको प्रर्बद्धनमा यो सहकार्य अर्थपूर्ण हुने उनको भनाइ थियो।

द भोइस संगीतसम्बन्धी प्रतिस्पर्धा गराउने अन्तर्राष्ट्रिय प्रेन्चाइज रियालिटी शो हो। नेदरल्यान्ड्सबाट सुरु भएको यो शो पछिल्लो समय १४५ देशमा पुगेको छ। नेपालमा यसको पहिलो संस्करण कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो। दोस्रो संस्करण हिमालय टेलिभिजनमा आउने भएको छ।


प्रतिक्रिया दिनुहोस्