गुठी विधेयकको विरोधमा लाखौं जनता सडकमा,उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौं, ४ असार । गुठी विधेयक खारेजीको माग गर्दै बुधबार राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरूले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा सहभागी गायक योगेश्वर आमात्य लगायतका केही व्यत्तित्वहरूले गुलावको फूल समेत बोकेर सहभागी भएका छन् ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो । यसअघि शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको थियो ।

जुलुसमा सहभागीहरूले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरूलाई मान्य नहुने कडा चेतावनी दिएका छन् । उपत्यकामा ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेर ¥याली निकालेका छन् ।

सरकारले मंगलबार गुठीविधयेक फिर्ताको घोषणा गरेपनि गुठीयारहरुले आन्दोलन भने जारी राखेका छन् । गुठी विधेयक विरुद्धको प्रदर्शनले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित भएको छ ।


प्रतिक्रिया दिनुहोस्