निजीवन संघद्वारा ताप्लेजुङमा फलफुलका बिरुवा वितरण


ताप्लेजुङ, असार ५ / ताप्लेजुङले पारिवारिक निजी वन सङ्घ नेपाल स्थानीय किसानलाई विभिन्न फलफुलका बिरुवा वितरण गरेको छ । सङ्घले फुङ्लिङ नगरपालिकाभित्रका किसानलाई एभोकाडो, आँप र अनारको बिरुवा वितरण गरेको हो ।


फुङ्लिङ नपाका ११ वटै वडाका किसानलाई आम्रपाली र मालद जातको आँपको बिरुवा तीन सय वटा, एभोकाडो दुई सय र दुई सय ५० वटा अनारको बिरुवा वितरण गरेको पारिवारिक निजी वन सङ्घ नेपालका जिल्ला अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोगमा उक्त बिरुवाहरु खरिद गरी किसानलाई बितरण गरिएको गुरुङले बताउनुभयो ।


यस्तै वन विकास कार्यक्रमअन्तर्गत फुङ्लिङ नगरपालिकाभित्रका किसानलाई सहभागी गराएर फलफुल खेतीसम्बन्धी बुधबार एकदिने कार्यशाला गोष्ठी पनि सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गोष्ठीमा फलफुल खेती प्रविधि, फलफुलको उपयोगिता साथै पारिवारिक निजी वनको विषयमा छलफल गरिएको थियो । गोष्ठीको उद्घाटन फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) ले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्