ट्रम्पले इरानमाथिको सैनिक कारवाही फिर्ता गरे

वासिङटन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेका छन ।

इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा राष्ट्रपतिका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी तथा नेताहरुबीच व्यापक छलफल र विवाद भएको थियो । बिहीबार राती ७ बजेसम्म सैन्य र कुटनीतिक अधिकारीहरु इरानमाथि हमला हुने अनुमान गरिरहेका थिए ।

तर छलफलमा संलग्न अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पले शुरुमा राडार र मिसाइल ब्याट्रीजस्ता इरानका केही सिमित लक्ष्यहरुहरुमा सैन्य कारवाही गर्ने अनुमति दिएका थिए ।

अपरेशन शुरु पनि भएर शुरुवाती चरणमा रहेको बेला ट्रम्प आफ्नो निर्णयबाट पछि भएको एक शीर्ष अधिकारीले बताएका छन् । ‘विमानहरु आकाशमा थिए, जहाजहरु पोजिसनमा थिए । मिसाइल भने फायर भैसकेको थिएन, त्यतिबेला नै यसलाई रोक्न आदेश आयो ती अधिकारीले भने ।

ट्रम्पको आकस्मिक निर्णयले मध्यपूर्वमा उनको तेस्रो सैन्य कारवाहीमा पूर्णविराम लागेको हो । यसअघि उनले सन् २०१७ र २०१८ मा सिरियामा कारवाही गरेका थिए ।

ट्रम्पले के कारणले आफ्नो निर्णय बदले भन्ने चाहीँ खुल्न सकेको छैन । र, फेरि पनि कारवाही अघि बढाइन्छ कि बढाइँदैन भन्ने पनि खुलेको छैन ।

यस विषयमा ह्वाइट हाउस र पेन्टागन अधिकारीहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।
अमेरिकी समय अनुसार बिहीबार बिहान इरानको सर्फेस–टु–एयर मिसाइलले अमेरिकाको १३ करोड डलर पर्ने मानवरहीत ड्रोन खसालेको थियो ।
यसको प्रतिक्रियामा अमेरिकाले शुक्रबार बिहानै सैनिक कारवाही गर्ने तयारी गरेको थियो ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्