अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेटको शीर्ष स्थानमा

काठमाण्डौ असार ६ / साविक विजेता अष्ट्रेलिया आईसीसी एकदिवसिय विश्वकप शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

तीन सय ८२ रनकोे विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय ३३ रन बनाउन सकेको थियो । बंगलादेशका लागि मुश्फिकुर रहिमले शतक पुरा गरे पनि टोलीको हार टार्न सकेनन् । रहिमले एक सय दुई रन बनाएका थिए ।

महमुदूल्लाहले ६९, तामिम इकवालले ६२, सकिब अल हसनले ४१, लिटोन दासले २० र सौम्य सरकारले १० रन बनाए । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइल, मिचेल स्टार्क, मार्कस स्टोइनिसले दुई दुई विकेट लिए । एडम जम्पाले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारि ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ८१ रन बनाएको थियो । अष्टेलियाको विशाल योगफलमा ओपनर डेविड वार्नरले एक सय ६६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । वार्नरले एक सय ४७ बलमा पाँच छक्का र १४ चौका हानेका थिए ।

जारी विश्वकपका दोस्रो सतक हानेका वार्नरको यो एकदिवसीयमा १६औं शतक हो । यसै विश्वकपमा उनले पाकिस्तानविरुद्धको खेलमा पनि शतक हानेका थिए । उस्मान खवाजाले ८९ रन बनाए । कप्तान आरोन फिन्चले ५३, ग्लेन म्याक्सवेलले ३२, मार्कस स्टोइनिसले १७ र एलेक्स केरीले अविजित ११ रन बनाए ।

बंगलादेशका लागि सौम्य सरकारले तीन विकेट लिए । मुस्ताफिजुर रहमानले एक विकेट लिएका थिए । जितसँगै शीर्ष स्थान ओगटेको अष्ट्रेलियाले ६ खेलबाट १० अंक बनाएको छ । समान खेलबाट पाँच अंक बनाएको बंगलादेश पाँचौं स्थानमा छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्