ताप्लेजुङमा औषधि पसलको अनुगमन


ताप्लेजुङ असार
/ जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शनिबार सदरमुकाम फुङ्लिङमा सञ्चालित औषधि पसलको अनुगमन गरिएको छ । सदरमुकाम फुङ्लिङमा रहेको तमोर अस्पतालसहित तीनवटा औषधि पसलको अनुगमन गरिएको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईको नेतृत्वमा गरिएको अनुगमनमा फर्मासिस्ट बिना पनि औषधि पसलबाट औषधि बिक्री वितरण गर्ने गरिएको पाइएको छ । सहायक प्रजिअ राईका अनुसार तमोर अस्पतालमा फर्मासिस्ट बिना औषधि विक्री वितरण गर्ने गरेको पाइएको हो । फर्मासिस्टको प्रमाणपत्र प्राप्त व्यक्तिले मात्र औषधि विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था रहेको राईले बताउनुभयो ।


अनुगमनका तमोर अस्पतालद्वारा सञ्चालित तमोर फार्मेसीमा फर्मासिस्ट नभएको पाइएपछि तत्काल राख्न सुझाव दिएको र नराखेमा वा अर्को पटक अनुगमनमा आउँदा फर्मासिस्ट नपाइएमा कानुनबमोजिम कारबाही हुनेमा सचेत गराएको पनि सहायक प्रजिअ राईले बताउनुभयो । यस्तै फुङ्लिङ बजारको तोक्मे क्षेत्रमा रहेको लाइफ फार्मेसी र अजय मेडिकल हलको अनुगमन गरिएको छ । उक्त दुईवटा औषधि पसलहरुमा खासै कमजोरी नभेटिएको पनि अनुगमन टोलीले जनाएको छ ।


जिल्लामा दर्जनौ औषधि पसलहरु सञ्चालित रहेका र बाँकी औषधि पसलहरु क्रमशः अनुगमन गर्दै जाने बताइएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, उद्योग बाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत संलग्न टोलीले अनुगमन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्