ताप्लेजुङमा नेकपाद्वारा पीडितलाई राहत वितरण


ताप्लेजुङ असार १० / ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाका असिना पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गएको बैशाख–२८ गते परेको असिनाबाट पीडित भएका फक्ताङ्लुङ गाउँपालिकाका–६ लेलेपको बतासे र साँघु बस्तीका बासिन्दालाई सोमबार खाद्यान्न सामग्री वितरण गरिएको हो ।


असिना प्रभावित क्षेत्रमै पुगेर असिनाबाट पीडित भएका एक सय ८० परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फक्ताङ्लुङ गाउँपालिका कार्यसमितिको अगुवाइमा राहत रकम सङ्कलन गरेर खाद्यान्न सामग्री खरिद गरी पीडितलाई वितरण गरिएको हो ।


जिल्लाबासी तथा काठमाडौंबासीका बीच सहयोग रकम सङ्कलन गरेर करिव सात लाख रुपियाँ बराबरको राहत स्वरुप पीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको नेकपाका जिल्ला कमिटी सदस्य राजन लिम्बू ‘मुक्ति’ ले जानकारी दिनुभयो । लिम्बूका अनसार चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको थियो । नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य भट्टराईसहित प्रदेशसभाका सांसदद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँबा, नेकपाका प्रदेश १ कमिटीका सदस्यद्वय मिङ्माडण्डु शेर्पा र लक्ष्मी अन्छाङ्बो ‘आवाज’, नेकपाका जिल्ला तथा स्थानीय कमिटीका सदस्यहरु, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरिएको पनि लिम्बूले जानकारी दिनुभयो ।


बैशाख–२८ गते परेको भीषण असिनापानीले लेलेपको बतासे र साँघु गाउँमा खाद्यान्नबाली मकै, आलु लगायतका बालीमा नराम्ररी क्षति पु¥याएको थियो । असिनाले बालीनालीमा क्षति पु¥याएपछि त्यस क्षेत्रका बासिन्दाले पुनः मकै लगायतका बाली लगाएका छन् ।

पीडित परिवारले बाली लगाए पनि ढिलो अर्थात पछौटे भएकाले फल नलाग्नसक्ने स्थानीयले बताएका छन् । त्यसबेला जिल्लाका अन्य क्षेत्रमा पनि असिना परेको तर, अन्य क्षेत्रमा भने किसानले लगाएको बालीमा कम मात्र क्षति पु¥याएको थियो ।


प्रतिक्रिया दिनुहोस्