नेयमार र बार्सिलोनाबीच ५ वर्षको सम्झौता

एजेन्सी / ब्राजिलियन सुपरस्टार नेयमारले क्याटलान क्लब बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गर्ने भएका छन् ।

ब्राजिलको चर्चित संचारमाध्यम स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र नेयमारबीच मौखिक सम्झौता भइसकेको छ । पीएसजीमा खुसी रहन नसकेका नेयमारले आफ्नो तलब ५० प्रतिशत कम गरेर भएपनि बार्सिलोना फर्कन चाहेका हुन् ।

उनी सन् २०१७ मा विश्वकै सर्वाधिक महँगा खेलाडी बन्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी पुगेका थिए । पीएसजीमा नेयमारले मैदानभित्र अपेक्षित प्रदर्शन गरेपनि मैदानबाहिर भने उनको लागि सुखद समय रहन सकेको छैन । लगातार चोटका कारण मुख्य खेल गुमाएका नेयमारको फरवार्डद्वय एडिन्सन काभानी र किलियन एमबाप्पेसँग पनि राम्रो सम्बन्ध छैन ।

ब्राजिलमा जारी कोपा अमेरिकाका लागि ब्राजिलको टोलीमा सम्मिलित भएका नेयमार चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए । २७ वर्षीय नेयमार आफैंले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेपछि अहिले दुवै क्लब उनको ट्रान्सफरको लागि वार्तामा रहेका छन् । पीएसजीले कम्तिमा पनि उनलाई खरिद गर्दाको रकम माग गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्