ताप्लेजुङको गाउँ तथा नगरसभाका साढे ५३ करोड बजेट पारित

ताप्लेजुङ असार १० / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको छैटौं नगरसभाले आगामी आर्थिक वर्ष २०७६ / ७७ का लागि साढे ५३ करोड बढी रुपैयाँको बजेट पारित गरेको छ । जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङको मङ्गलबार सम्पन्न छैटौं नगरसभाले आगामी आर्थिक वर्षको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो ।

सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य सङ्घको सभा हलमा सम्पन्न नगरसभामा नगर उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ ले कुल ५३ करोड ५२ लाख ११ हजार ३३४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

उपप्रमुख भट्टराईले प्रस्तुत गरेको बजेटअनुसार पुँजीगततर्फ १९ करोड एक लाख ५८ हजार ३३४ तथा चालू अर्थात प्रशासनिकतर्फ ३४ करोड ५० लाख ५३ हजार रुपैंयाँ रहेको छ । प्रशासनिक बजेट पुँजीगतभन्दा झण्डै साढे १५ करोड रुपैंयाँले बढी हो ।


फुङ्लिङ नगरपालिकाको आगामी बजेटमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १५ करोड २२ लाख रुपैयाँ, सङ्घीय सरकारकै सशर्त अनुदानमा २० करोड ६९ लाख, राजश्व बाँडफाँडमा सात करोड ७८ लाख र सामाजिक सुरक्षा भत्तामा ४ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ । यस्तै प्रदेश सरकारको समानीकरण अनुदानमा ७२ लाख १६ हजार रुपैंयाँ र प्रदेश राजस्व बाँडफाँडमा ८६ लाख ६० हजार रुपैयाँ बजेट रहेको छ ।

नगर उपप्रमुख भट्टराईले पेश गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ लाई समेत सभाले पारित गरेको छ । विधेयकमा फुनपाको वडा नं. ९, १० र ११ वडामा स्वघोषणाको आधारमा एकीकृत सम्पति कर लागू हुने उल्लेख छ । अन्य वडाको हकमा भने ५ करोड भन्दा माथिको एकीकृत सम्पति करको दायरा निर्धारण गरेको छ ।


जसअनुसार ५० हजार सम्मको एकीकृत सम्पति कर ५० रुपैयाँ पर्ने छ भने ५ करोड भन्दा माथिको ६० हजार रुपैयाँ पर्न जाने छ । आर्थिक विधेयकमा घरको मूल्याङ्कन दर तथा ह्रास कट्टी विवरण, भौतिक संरचनाको वर्गीकरण तथा दररेट, नगरपालिकाको क्षेत्र निर्धारण, भूमीकर, व्यवसाय कर, सवारी साधन कर, स्थानीय सवारी साधन कर, विज्ञापन कर, बहाल बिटौरी कर, सेवा शुल्क, फोहोरमैला व्यवस्थापन कर, नदीजन्य पदार्थ तथा प्राकृतिक श्रोत बिक्री कर र पटके सवारी कर उल्लेख गरिएको छ ।


नगरपालिकाले बंशजको आधारमा प्राप्त हुने नागरिकता सिफारिस शुल्कलाई शून्यमा झारेको छ । नगर प्रमुख छत्रपति प्याकुरेलले प्रस्तुत गरेको केहि परिवर्तित नीति तथा कार्यक्रममा नवीकरणीय ऊर्जा, सहकारी, सिँचाइ तथा साना मर्मत कार्यक्रम, माटो परीक्षण तथा भकारो सुधार कार्यक्रम रहेका छन् । सुशासन प्रवद्र्धनका लागि नगरपालिकाले सार्वजनिक सुनुवाइदेखि सामाजिक परीक्षण सम्मका कार्यक्रम ल्याएको छ भने रवीन्द्र स्मृति पार्क, शहीद स्मृति पार्कका लागि पनि रकम बिनियोजन भएको छ ।


अलैँची जिल्लाको नाताले पायक पर्ने नगरको क्षेत्र छनाट गरी अलैँचीको बोट झल्कने प्रतिमा स्थापना गरिने भएको छ । नगरपालिकाले नगर क्षेत्र खेलकुद मैदान निर्माण कार्यलाई प्राथमिकता दिएको छ । खोल्सी तथा तटबन्ध निर्माण र पदमार्ग निर्माण नगरपालिकाको प्राथमिकतामा छ । आगामी आवबाट मेयर कप भलिबललाई अन्तरपालिका स्तरीय बनाइने भएको छ ।


उता पाथीभरा याङ्वरक गाउँपालिकाले प्रतिनिधिसभाका सांसद योेगेशकुमार भट्टराईको बिशेष उपस्थितिमा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाका सांसदद्वय बलबहादुर साम्सोहाङ र होमकुमारी साँबाको उपस्थितिमा गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बजेट प्रस्तुत गर्नुभएको थियो ।

यस्तै मैवाखोला गाउँपालिका उपाध्यक्ष कौशिला थक्लुङद्वारा प्रस्तुत २७ करोड ३५ लाख ५५ हजार रुपैयाँको बजेटले यसपटक गाउँपालिकाका प्रत्येक वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्नेगरी सडक बिस्तारलाई पहिलो र सुशासन अभिवृद्धिलाई दोस्रो चरणमा राखेर बजेट ल्याएको छ ।


प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले समावेशी सामुदायिक हल, वातावरण तथा बिपद् व्यवस्थापन सहितका कार्यक्रम समावेश भएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाधारतर्फका कार्यक्रम पनि गाउँपालिकाको बजेटले महत्वका साथ समेटेको छ ।

मेरिङ्देन उपाध्यक्ष कल्पना तुम्बाहाम्फे, सिरिजिङ्घा उपाध्यक्ष ज्ञानुमाया चौहान र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले मङ्गलबार बजेट पेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्