गोली हानाहानपछि सेनाको तीन हेलिकप्टर संखुवासभा तिर घटनाबारे जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार

संखुवासभा असार १६ / काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती उतारिएको छ छ। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको हो।

सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन्। स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ २५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ। संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान पछि सेनाका हेलिकोप्टरसँगै सदरमुकामबाट सशस्त्र प्रहरीको २० जनाको टोली स्थल गस्तीमा छ ।

त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा थप १७ जनाको टोली पनि घटनास्थलतर्फ परिचालित भएको छ। ताम्कु र सिसुवाबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ । सिलिचोङ गाउँपालिका १ का वडाअध्यक्ष लक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताएका छन्।

उनका अनुसार अटोमेटिक राइफलबाट मकै पड्के जस्तै गोली चलेको हो। तर घटनामा हताहती या अन्य क्षतिबारे प्रहरीले केही बोलेको छैन। यसैबीच जिल्ला सुरक्षा समितिको बैठक सदरमुकाम खाँदबारीमा बसिरहेको छ । घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्