दुबईबाटै उनकी आमाको हत्या योजना बनाएर नेपाल आएका थिए नौसाद

काठमाडौ असार १७ / चाँगुनारायण नगरपालिका वडा नम्बर ७ की ईश्वरी भट्टराई र सिरहा कल्याणपुर नगरपालिका ४ का मोहम्मद नौसाद भक्तपुर कमलविनायकस्थित साह गार्मेन्टमा सँगै काम गर्थे।

एक वर्षयता २३ वर्षीय नौसाद र २७ वर्षीया ईश्वरीबीच प्रेम सम्बन्ध झ्यांगिएको थियो। ईश्वरी विवाहित हुन्। एक छोरा छन्। अविवाहित नौसाद र ईश्वरीको प्रेमको बीचमा ‘पर्खाल’ बनेकी थिइन्, आमा साबित्री भट्टराई।

तिनै साबित्रीलाई प्रेम सम्बन्धमा बाधा पुर्‍याएको भनी छोरी ईश्वरीले हत्या गराइन्, आफ्नै प्रेमी नौसादबाट।प्रहरीका अनुसार डेढ महिनाअघि ६० वर्षीया साबित्रीको हत्या योजना बनेको थिए।सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका ५ की साबित्री ९ वर्षदेखि कान्छी छोरी ईश्वरीको घरमा बस्दै आएकी थिइन्। कान्छी ल्याएर श्रीमान् दोलखा बस्न थालेपछि साबित्री छोरीको घर आएकी थिइन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आइतबार बिहान करिब ९ बजे नौसाद ईश्वरीको घरमा पुग्छन्। पूर्वयोजना अनुसार यो बेला ईश्वरी दुई दिनअघि नै गोदावरीस्थित फूपूको घर पुगिसकेकी थिइन्।

नौसादलाई साबित्रीले हकार्छिन्। कुचोले हिर्काएर लखेट्छिन्। नौसाद भाग्छन्। स्थानीयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक प्रधान भन्छन्, ‘ईश्वरीका छोरा दिप्सनलाई बोर्डिङ पुर्‍याउन साबित्री जान्छिन्। सकुसल फर्किन्छिन्।साबित्री छिमेकीसँग भलाकुसारी गर्छिन्। विद्यालयबाट फर्किने नातिलाई कुर्दै दिन काट्छिन्।

अचानक दिउँसो करिब १ बजे नौसाद फेरि साबित्रीकहाँ मोटरसाइकल चढेर आउँछन्। उनले आफूसँग दुई जना भारतीय युवा पनि साथै ल्याउँछन्।केहीबेर साबित्रीसँग भलाकुसारी गरेपछि नौसादले साबित्रीको मुख थुन्छन्। प्रहरीका अनुसार भारतीय युवामध्ये अर्जुन कुमार भनिने भोला कुमारले साबित्रीको हात पक्डिन्छन् र मोहम्मद रहिसले घाँटी रेट्छन्।

घटना अनुसन्धानमा जुटेको महानगरीय अपराध महाशाखाका अनुसार ईश्वरी र नौसादबीचको प्रेम सम्बन्ध आमाले मन पराएकी थिइनन्। नौसाद घरमै आउने र अनैतिक सम्बन्ध पनि राख्ने गरेकाले आमाले बिरोध गर्ने गरेकी थिइन्।

‘ईश्वरी र नौसादको सम्बन्ध साबित्रीले थाहा पाएकी थिइन्। यो सम्बन्ध अघि नबढोस् भन्ने चाहन्थिन् ईश्वरीकै बयान उद्धृत गर्दै महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा भन्छन्, ‘त्यसपछि आमासँग दुवैको दुश्मनी बढ्दै गएको देखिन्छ।’

छोरीले नौसादलाई नछोडेपछि कहिलेकाहीँ झगडा हुन्थ्यो। आमाले सम्बन्ध मन नपराएका कारण नौसादलाई आफूबाट अलग गर्न पनि ईश्वरीले प्रयास गरिकि थिइन्।उनले डेढ महिनाअघि नौसादलाई दुबई पठाइन्, आफ्नै खर्चले। ईश्वरीले नौसादलाई दुबई जान एक लाख रुपैयाँ पैसा दिएकी थिइन्।

नौसाद दुबई उडेपछि साबित्रीलाई ढुक्क भएको थियो। ईश्वरीले भने नौसादलाई भुल्न सकिनन्। न त नौसाद नै ईश्वरीलाई बिर्सिएर अघि बढ्न सके। ईश्वरी र उनका श्रीमानबीच सम्बन्धमा त्यसै पनि न्यानोपन थिएन। नौसादका कारण ईश्वरी र उनका श्रीमानबीचको सम्बन्ध थप चिसियो। एयरपोर्टस्थित एक होटलमा काम गर्ने ईश्वरीका श्रीमान् लगभग घरै आउन छोडे।दुबईमा योजना, फर्केको साता नै हत्या

सात समुद्रपार बसे पनि नौसाद र ईश्वरीबीच सम्पर्क जारी थियो। प्रेम पनि अटुट् थियो।विदेशमा हुँदै भाइबर र फेसबुक मार्फत ईश्वरी र नौसादबीच संवादमा रहे। कसरी प्रेम सम्बन्धलाई साकार तुल्याउने भनी उनीहरुले छलफल गरे।ईश्वरीले भयानक जुक्ति निकालिन्।

‘त्यही संवादका क्रममा हाम्रो बाटोको काँडा आमा हो, आमालाई बाटोबाट हटाउनैपर्छ भनी ईश्वरीले नौसादलाई भनेकी छिन् एसएसपी थापाले भने, ‘यसपछि हत्या योजना बनेको देखिन्छ।’संवादमा नौसादले म एक्लै आमाको हत्या गर्न सक्दिनँ भने। भारतबाट साथीहरु बोलाउनुपर्ने ईश्वरीलाई सुझाए। यसरी भारतबाट साथीहरु ल्याउँदा १२ लाख रुपैयाँ खर्च दिनुपर्ने प्रस्ताव गरे।

ईश्वरीले ‘हुन्छ’ भनेपछि नौसाद एक साताअघि नेपाल आए। दुबईमै हुँदा उनले आफ्ना नाता पर्ने भारत मधुमनी जिल्ला रजौरी थाना, दुभौली पञ्चायतका २४ वर्षीय मोहम्मद रहिसलाई नेपाल आएर हत्याको प्रस्ताव राखेका थिए।रहिसले नजिकका साथी पूर्वी दिल्ली छाप्रा थाना, दुभौली पञ्चायतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमारलाई लिएर नेपाल आउने बताउँछन्।

हत्याको मिति दुबईमै तय भएपछि ईश्वरी शुक्रबार फूपूको घर गोदावरीमा गएकी थिइन्। ‘म घरबाट सात दिन हराउँछु। त्यसबेला काम सक्नू,’ ईश्वरीलाई उद्धृत गर्दै एसएसपी थापाले भने, ‘यसबीचमा उनीहरुबीच सम्पर्क भएको देखिँदैन।’

प्रहरीका अनुसार योजना अनुसार नौसाद दुबईबाट फर्केर पुरानो ठिमीमा डेरा लिएर बस्न थाले। नौसाद र ती दुई भारतीयबीच आइतबार बिहान मात्र भेट भएको थियो। दुवै सिरहाबाट बिहान मात्र काठमाडौं आएका थिए।हत्यापछि दुई भारतीय मकवानपुर पुगेर बसेका थिए। नौसादले दुवैलाई त्यहाँ पर्खाएका थिए। ‘म पैसा लिएर आउँछु भनी उनले पर्खाएका थिए,’ एसएसपी थापाले भने।

काठमाडौंबाट बस चढेर हिँडेका नौसादलाई प्रहरीले धादिङको गजुरीबाट आइतबार राति सात बजे पक्राउ गर्‍यो। उनको बयान र टेलिफोन ‘ट्रयाकिङ’ गरेपछि मकवानपुरमा कुरिरहेका भारतीयद्वयलाई प्रहरीले सोमबार बिहान चार बजे पक्राउ गरेको थियो।

दुवै भारतीले नौसादलाई पैसाको ताकेता गरिरहेका थिए। ‘पैसा नदिए भारतमा भएकी तिम्रो दिदीलाई राम्रो हुने छैन भनी धम्क्याइरहेका थिए,’ एसएसपी थापाले भने, ‘यो क्रम चल्दाचल्दै नौसाद समातिए, उनीमार्फत दुवै भारतीय पक्राउ परे।’


प्रतिक्रिया दिनुहोस्