गोली हानाहानपछि विप्लव नेतृत्वका तीन कार्यकर्ता बेपत्ता

संखुवासभा असार १७ / जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन। प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना जिल्ला नेताले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको जानकारी दिएको छ ।

प्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परेको तेन्छोबाट विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका छन्। तर जिल्लास्थित सुरक्षा अधिकारीहरु यो कुराबारे केही बोल्न तयार छैनन्। ‘हाम्रो टोली भात खाइरहेका बेला प्रहरीले अचानक हामीमाथि फायरिङ गर्‍यो, ती नेताले भने, ‘त्यही क्रममा तितरबितर हुँदा हाम्रा तीन कार्यकर्ता बेपत्ता भएका छन्।

उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।’ घटनास्थलमा गोली चले पनि अहिलेसम्म हताहतीको कुनै जानकारी छैन। उक्त समूहका महासचिव विप्लवको सचिवालयका एक नेताले पनि संखुवासभाबाट आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएका कार्यकर्ताको विवरण विप्लव समूहले पनि उपलब्ध गराउन सकेको छैन।

देखादेख भएर फायरिङ प्रजिअ यता संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा रहेको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन्। संखुवासभामा प्रहरी(विप्लव गोली हानाहान घटनास्थल नजिकैबाट एकजना पक्राउ परेको थियो ।


प्रतिक्रिया दिनुहोस्