‘वल्लीको डायरी’ मा हाजिरीजवाफ, कथा र समिक्षा सहितको अन्तरक्रिया

सीता तुम्खेवा
काठमाण्डौं, २१ असार । मनिषा गौचनको चर्चित उपन्यास ‘वल्लीको डायरी’मा शुक्रबार हाजिरीजवाफ, कथा र समिक्षा सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शताब्दी साहित्य प्रतिष्ठान र झङ्कार कलाकेन्द्रको आयोजना रहेको उक्त कार्यक्रममा वक्तव्य कवि विप्लव प्रतीक, समीक्षा निमग्ना घिमिरे, कथा लेखन महेश्वर चापागाइ र आश्मा अर्यालको रहेको थियो । साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको र झङ्कार कलाकेन्द्रका बालगायकहरुको स्वागत गीतसँगै कार्यक्रमको सुरुवात भएको थियो ।

कार्यक्रममा कथाकार महेश्वर चापागाईंले उपन्यासमा यौन पेशेवरको रुपमा चित्रण गरिएको वल्लीको श्रीमान कस्तो हुन सक्ला भन्ने कल्पनामा कथा लेखेका थिए भने कार्यक्रमकी संयोजक आश्मा अर्यालले वर्षौ श्रीमानको पर्खाइमा रहेर घर सम्हाल्दै र एक्लो जीवन बाँच्दै आएकी वल्लीले वास्तविकता थाहा पाएर नेपाल फर्किएसँगै टुंगिएको उपन्यासलाई वल्लीको नेपाल आएपछिको कथाको रुपमा प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा बोल्दै कवि विप्लप प्रतीकले मनिषा गौचन असल मनका हुनुका साथै असल कवि भएको बताएका थिए । तर उनले कविता नलेखेर उपन्यास मात्रै लेख्ने गरेको गुनासो पनि व्यक्त गरेका थिए । प्रतिकले उनलाई साहित्यमा निरन्तरता दिन आग्रह समेत गरेका थिए ।

‘वल्लीको डायरी’माथि भएको हाजिरीजवाफ कार्यक्रममा जम्मा १५ वटा प्रश्न सोधिएकामा ९ वटा प्रश्नहरुको सहि जवाफ आएका थिए । कार्यक्रममा रोजन खड्का प्रथम भएका थिए भने हृदय अधिकारी, पुस्कर हुमागाइ र कमला पौडेल समान भएका थिए । विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रमको अन्त्यमा साहित्यकार मनिषा गौचनलाई प्रश्न सोधिएकोे थियो, उक्त प्रश्नहरुको जवाफ मनिषाले दिएकी दिइन् । रुपा न्योपानेका उद्धघाषणमा सभ्य र भव्य तरिकाले सम्पन्न भएको उक्त कार्यक्रममा सम्मान कार्यक्रम पनि राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्