कार्यकक्षमै वडा अध्यक्ष थुनिए

काभ्रेपलाञ्चोक असार २१ / काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छ । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताउनुभयो । सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिनुभयो ।

वडाध्यक्षसँग आक्रोसित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए । गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए। उक्त सडकखण्डको ४०० मिटर सडकमा ३ नम्बर प्रदेश सरकारको बजेटमा ग्राभेल, डे«न वालसहित नाली निर्माण भइरहेको छ ।

गेल्दुङ–गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४०० मिटरमा ३५ लाखबाट ग्राभेल, डे«न वालसहित नाली निर्माण तथा ‘बीलो रकम’ करीब १९ लाखमा करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोपमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेका हुन् ।

उक्त सडकबाट गाउँपालिकाका पाँच वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । वडाध्यक्ष श्रेष्ठले आफ्नो कमीकमजोरी भए ‘छलफल गर्न’ आग्रह गर्दा कुनै कुरा नसुनी आफूलगायत केही कर्मचारी कार्यालयभित्रै भएको अवस्थामा तालाबन्दी गरिएको बताउनुभयो । कामको सिलसिलामा कमीकमजोरी भएको हुनसक्छ, बसेर छलफल गरौँभन्दा आक्रोशित भीडले तालाबन्दी गरेर हिड्यो”, उहाँले भने अनुसार । तालाबन्दीको दुई घण्टापछि स्थानीय प्रहरीले ताला खोलेका थिए ।

उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ । तिमल्सिनाले भने, “सडकमा प्रदेश बजेटको रकमबाट वडाध्यक्षले बारलिङ गराएका रहेछन्, उनले स्थानीयलाई आगामी बर्षको पाँचलाख बजेटबाट अहिले काम गरिएको भन्ने झुट कुरा बताउँदै आएका रहेछन् । वडाध्यक्ष श्रेष्ठले भने उपभोक्ता समितिले सम्झौता गरेको रकममा अपुग भएमात्रै आउँदो वर्षको बजेटबाट दिने भनिएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्