मादक पदार्थ सेवान गरेको फोटो लिएको भन्दै प्रहरीले पत्रकारमाथी कुटपिट

सिन्धुली असार २२ / नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष पत्रकार होमकुमार कार्की राजन विनाबर्दीका प्रहरीको कुटपीटबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षिय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षिय विकास सिंह स्याङतानले कार्की माथि हातपात गरी घाइते बनाएका हुन्।

शनिबार राति कमलामाई नगरपालिका– ६ शिवनगरमा होटलमा मादक पदार्थ सेवन गरिरहेको प्रहरीले तस्वीर लिन लागेको भन्दै पत्रकार कार्की माथि आक्रमण गरेको हो। अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ।

बेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचाकार लागि शनिबार राति नै काठमान्डौ रेफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले बताइन्। महासंघका पूर्व अध्यक्ष मिनकुमार दाहालसँगै खाजा खाईरहेका अध्यक्ष र दाहाल दुवै माथि हातपात भएको तर दाहाललाई भने ठूलो चोट नलागेको बताइएको छ।

घटना पश्चात नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरु राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मिनकुमार दाहाललगायतका जिल्लाका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको बारेमा छलफल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्