ताप्लेजुङका ३० गाउँ पहिरोको उच्च जोखिममा, कुन कुन गाँउ हुन त ?

ताप्लेजुङ असार २४ / ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३० गाउँहरु पहिरोको उच्च जोखिममा रहेको देखाएको छ ।

सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम गाउँ उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनु भएका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो ।

त्यस्तै फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोलाका गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोपका गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

पाथिभरा याङवरक गाउँपालिकाका नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गाउँ तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावदिन साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

यता मैवाखोला गाउँपालिकाको ५ वटा वडा मध्ये कुनै पनि पहिरोको जोखिममा नरहेको जिल्ला विपद् व्यस्थापन समितिले निर्णय गरेको छ । सदरमुकाम फुङलिङ नगपालिकाका ११ वडा मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । उच्च जोखिममा रहेका वडाहरु १, ६, ७, ८ र १० हुन् ।

यी गाउँहरु कुनै बेला पनि वर्षाको समयमा बाढीपहिरो आउने भएकाले सबैलाई सतर्क हुन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अनुज भण्डारीले बताउनुभयो ।ताप्लेजुङ सदरमुकाम छेउमा रहेको हाङदेवाको हिरेवा, चिनेवा पहिरोले ठूलो रुप लिएमा सदरमुकाम नै खतरामा पर्ने देखिन्छ ।

त्यसैगरी नाङखोल्याङ, लिङखिम(थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रुपमा बगिरहने ठूला पहिरोको रुपमा लिने गरेको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ ।

विगतलाई हेर्ने हो २०७३ सालमा दोखुमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो । साथै सयौं घर परिवारहरुको उठिबास भएको थियो । २०७२ सालमा जिल्लाका तत्कालिन गाविसहरु खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो । पहिरोबाट ठूलो क्षति भएको थियो ।

दुई वर्षमा भएको क्षति त उदाहण मात्र हुन् । २०५९ सालामा लिङखिम, हाङदेवामा गएको पहिरोमा परी ११ जनाले ज्यान गुमाएका थिए । त्यो पहिरोबाट विस्थापित भएर जिल्ला सदरमुकाममा आउनुभएका तेजबहादुर भट्टराई पहिरोको स्मरण गर्दै भन्नुहुन्छ रातको समयमा थोरैले मात्र मेरो परिवार बचेको थियो ।

ताप्लेजुङमा २० वर्षको अवधिमा १ सय ५० जना मानिसले ज्यान गुमाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ईन्द्रबहादुर गुरुङको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्