२०१९ को उपाधि जित्दै नेपाल एशिया कपका लागि छनौट

फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधिमाथि कब्जा जमाएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत छनौट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।हङकङले नेपालसामु जीतका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६।१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वाधिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का हिर्काए ।त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।पहिलो ब्याटिङमा उत्रेको हङकङ ४३।१ ओभरमा मात्र ९५ रन मा समेटियो ।हङकङलाई सस्तोमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।


प्रतिक्रिया दिनुहोस्