ताप्लेजुङमा ४ महिनामा २६३ थान हतियार बरामद

ताप्लेजुङ असार २८ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चार महिनामा २६३ थान बन्दुक बरामद गरेका छन्। पत्रकार सम्मेलन गर्दै प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले विवरण सार्वजिनक गरेका हुन्।

थापाका अनुसार बरामद भएका अधिकांश हतियार भरुवा बन्दुक रहेका छन्। २५३ थान भरुवा, सर्ट गन २ थान, १२ बोर जोर नाले ५ थान, टुटु एक थान, म्यागनम एक थान, पेस्तोल एक थान र सोको गोली तीन राउन्ड रहेको उनले जानकारी दिए
यो तथ्यांकमा २०५ नाल अवैध हतियार छन्। इजाजतप्राप्त हतियार ५८ नाल रहेको थापाले जानकारी दिए।

ताप्लेजुङ प्रहरीले इजाजतप्राप्त वा अवैध हतियार जे भए पनि ३५ दिनभित्र बुझाउन सूचना नै जारी गरेको थियो। चैतमा जारी गरिएको त्यस्तो सूचनापछि हतियार बुझाउने क्रम तीव्र बढेको थापाले बताए।विप्लव तथा अन्य समूहले हातहतियारमार्फत सुरक्षा चुनौती बढाएको आँकलन गर्दै गृह मन्त्रालयले चैत १ गते हतियार बुझाउन ३५ दिनको समय नै दिएको थियो।

थापाका अनुसार उक्त सर्कुलरपछि हतियार बुझाउन र नबुझाए कानुनी कारबाही हुने जिल्ला प्रहरीले भनी गाउँ(गाउँमा सूचना पुर्‍याएको थियो।ताप्लेजुङका गाउँमा अधिक हतियार रहेको बुझेपछि हामीले सार्वजनिक सुनुवाइबाट गाउँमा हतियार बुझाउन र त्यसबारेको कानुनी कारबाहीबारे जानकारी दियौं,’ थापाले भने।३५ दिनको समयपछि पनि ताप्लेजुङ प्रहरीले हतियार संकलन अभियानलाई जारी नै राखेको थियो।

ताप्लेजुङको समुदायमा बिहे बटुलोमा पड्काउन भनी हतियार राख्ने चलन थियो। ‘सिकार खेल्ने, जंगली जनावर मार्ने, झगडा हुँदा बाबुले छोरा मार्ने, छोराले बाबु मार्ने र त्यसमा हतियार प्रयोग हुने घटना यहाँ धेरै रहेछन्,’ थापाले भने, ‘अब यस्ता गतिविधि धेरै हदसम्म नियन्त्रण हुने विश्वास लिएका छौं। बन्दुक पड्काउने क्रममा धेरैको ज्यान जाने पनि गरेको थियो। त्यो अब हुँदैन।’

हतियार संकलन अभियानले विद्यमान हतियारधारी समूहले त्यस्ता हतियार गाउँबाट प्राप्त गर्न नसक्ने परिस्थिति सिर्जनासमेत भएको थापाले बताए।


प्रतिक्रिया दिनुहोस्