धिरज राईले टाँसे एक हजार ट्याक्सीमा बुद्धको स्टिकर

काठमाडौं असार २९ / हाम्रो देश नेपाल सगरमाथाको मात्र होइन बुद्धको देश भनेर पनि चिनिन्छ । तर, उनै बुद्धका विषयमा विभिन्न गलत प्रचारहरु हुने गरेका छन् ।यहि गलत प्रचारका कारण हामी धेरै नेपालीको मन कटक्क खान्छ । चर्चित पप गायक धिरज राईलाई पनि वुद्धको जन्मका बारेमा फैलाइने भ्रमहरुले निकै पिरोल्छ ।

यसैले त गायक राईले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुराको प्रचारका लागि अभियान नै चलाएका छन् भने बुद्ध वाज व्रन इन नेपाल नामक गित समेत गाएका छन ।

उनले भगवान् गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर बिश्वका बिभिन्न राष्ट्रमा सांगीतिक कार्यक्रमसहित प्रचार–प्रसार समेत गर्दै आएका छन् । उनको यो अभियान अहिले पनि जारी छ । उनी विभिन्न क्रियाकलापबाट बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देश बाँडिरहेका छन् ।

केही दिन पहिले पोखरामा आयोजित एक कार्यक्रममा प्रर्यटक माझ बुद्धको जन्म नेपालमा भएको हो भन्ने अभियान चलाएका गायक राईले आइतबार भने एक हजार ट्याक्सीमा बुद्धका स्टिकर टाँसेर प्रचार गरेका छन् । उनले उपत्यकाभित्र चल्ने एक हजार टयाक्सीमा बुद्धको प्रचार गर्ने स्टिकर टाँसेका हुन् ।

‘पर्यटकलाई एयरपोर्टदेखि होटल ल्याउने, पुर्‍याउने र देश घुमाउने काम जति ट्याक्सीले गर्छन् । त्यो अन्य कसैले र केही माध्यमले पनि गरेको छैन ।’ गायक राईले भने, ‘बुद्धको जन्मको बिषयमा पर्यटकमा रहेको भ्रम चिर्न ट्याक्सी पनि उपयुक्त माध्यम हो भन्ने ठानेर यसरी स्टिकर टाँस्ने अभियान चलाएको हुँ ।’ चालकले यात्राको क्रममा पर्यटकलाई बुद्धको बिषयमा बुझाउने राईको भनाई रहेको छ ।

राईले उपत्यकाको ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसँग मिलेर स्टिकर अभियान चलाएका हुन् । ट्याक्सी स्टिकर अभियानले अन्य यातायात व्यवसायीलाई पनि यो कार्यक्रममा उत्साहित बनाउने गायक राई बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्