विश्वकप क्रिकेटमा इंग्ल्यान्ड बन्यो च्याम्पियन

आइसिसी क्रिकेट विश्वकपको ४४ वर्षको इतिहासमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको छ।अहिलेसम्मकै रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई बाउन्ड्रीको आधारमा पछि पार्दै उपाधि कब्जा गर्‍यो।

निर्धारित ५० ओभरको खेल र त्यसपछिको सुपर ओभरमा समेत दुवै टिमले बराबरी रन जोडेका थिए। त्यसपछि बाउन्ड्रीको आधारमा विश्वविजेताको टुंगो लगाउनु परेको थियो। सुपर ओभर बराबरी
निर्धारित ५० ओभरमा दुवै टिमले समान स्कोर २४१ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए। बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट आएका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे।

१६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्न न्युजिल्यान्डका मार्टिन गुपटिल र जीमी निसम आए। बलिङमा थिए इंग्ल्यान्डका युवा खेलाडी जोफ्रा आर्चर।

आर्चरले पहिलो बल वाइड फ्याँकेका थिए। त्यसपछि २ रन लिएका निसमले दोस्रो बलमा छक्का हिर्काए। निसमले तेस्रो बलमा २ रन, चौथो बलमा पनि २ रन र पाँचौ बलमा १ रन जोडेपछि न्युजिल्यान्डलाई अन्तिम बलमा जितका लागि २ रन चाहिएको थियो।अन्तिम बलमा २ रन लिने क्रममा न्युजिल्यान्डका मार्टिन गुपटिल रनआउट भए। उनले कुदेर १ रन मात्र लिन सक्दा सुपर ओभर समेत बराबरी भयो। दुवै टिमले सुपर ओभरमा १५-१५ रन जोडे।

बाउन्ड्रीबाट विश्वविजेताको टुंगो
सुपर ओभर पनि बराबरी भएपछि विश्व विजेताको टुंगो बाउन्ड्रीबाट लगाइयो। समग्र बाउन्ड्री प्रहार गर्नमा इंग्ल्यान्ड अघि रहदा विश्व विजेता बन्न सफल भयो। इंग्ल्यान्डले कुल २६ बाउन्ड्री प्रहार गरेको थियो भने न्युजिल्यान्डले १७ बाउन्ड्री हिर्काएको थियो।

बाउन्ड्रीको आधारमा विश्वविजेताको टुंगो लगाएपछि कतिपयले आइसिसीको नियमको आलोचना गरेका छन्। न्युजिल्यान्डका कप्तान केन विलियमसनले समेत पोस्ट म्याचमा आइसिसीको नियमप्रति असन्तुष्टि पोखेका थिए। विलियमसन प्लेयर अफ दि सिरिज घोषित भए।भारतका पूर्व खेलाडी विरेन्द्र सेवाग, युवराज सिंह र गौतम गाम्भिरले पनि आइसिसीको नियमको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका थिए।

निर्धारित ओभरमा समान स्कोरत्यसअघि निर्धारित ५० ओभरको खेल बराबरी भएको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा सबै विकेट गुमाउँदा २४१ रन नै जोड्यो।

ओभर थ्रोले न्युजिल्यान्डलाई घाटाअन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले पहिलो २ बलमा रन जोड्न सकेनन्। स्टोक्सले तेस्रो बलमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टलाई छक्का प्रहार गरे।

चौथो बल ओभर थ्रो हुनु न्युजिल्यान्डका लागि दुर्भाग्य सावित भयो। ओभर थ्रो हुँदा बल बाउन्ड्री कटेको थियो भने इंग्ल्यान्डका ब्याट्सम्यानले कुदेर २ रन लिएका थिए। जसकारण इंग्ल्यान्डले ६ रन अतिरिक्तको रुपमा पायो।

पाँचौ बलमा २ रन लिने क्रममा इंग्ल्यान्डका अदिल रसिद रन आउट भएका थिए। अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा इंग्ल्यान्डका मार्क उड रनआउट भएका थिए। जससँगै इंग्ल्यान्ड ५० ओभरमा २४१ रनमा अलआउट भयो। स्टोकको योगदान

बेन स्टोक्सले इंग्ल्यान्डका लागि सबैभन्दा बढी स्टोक्सले नटआउट ८४ रन जोडेका थिए। उनले ९८ बलमा ५ चौका र २ छक्का हिर्काए। उनी खेलको म्यान अफ दि म्याच भए। स्कोक्सले अन्तिमसम्म इनिङ सम्हाल्दा इंग्ल्यान्डले सम्भावित हार टारेको थियो।

जोस बटलरले ५९ रनको योगदान दिए। उनले ६० बलमा ६ चौका हिर्काए। ओपनर जासन रोए १७ रन र उनका पार्टनर जोनी बायस्टो ३६ रनमा लकी फर्ग्युसनबाट बोल्ड भए। जोए रुट ३० बलमा ७ रन र कप्तान इयान मोर्गान २२ बलमा ९ रन जोडेर आउट भए।

क्रिस ओएक्स २ रन, लियाम प्लङ्केट १० रन र जोफ्रा आर्चर शून्यमा आउट भए।समान्य लक्ष्य भए पनि न्युजिल्यान्डका बलरले उत्कृष्ट प्रदर्शन गर्दा खेल रोमाञ्चक बनेको थियो। न्युजिल्यान्डका जिमी निसम र लकी फर्ग्युसनले ३-३ विकेट लिए। मार्ट हेनरी र ग्रान्ड डेहोमले १-१ विकेट लिए। अन्तिम ओभरमा इंग्ल्यान्डका २ ब्याट्सम्यान रन आउट भए।

न्युजिल्यान्डको सामान्य स्कोरटस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो ।न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान हेनरी निकोल्सले ५५ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका प्रहार गरे।

ओपनर मार्टिन गुपटिल १९ रनमा आउट भए। कप्तान केन विलियमसनले ३० रनको योगदान दिए। रोश टेलर १५ रन बनाएर खेलिरहदा जोन उडको एलबिडब्लुको धरापमा परे।

जिमी निसमले २५ बलमा ३ चौकाको मद्दतमा १९ रन र कोलिन डे ग्रान्डहोमले १६ रन बटुले। टम लाथम ४७ रन बनाएर आउट भए। उनले ५६ बलमा २ चौका र १ छक्का हिर्काए।

बलिङमा इंग्ल्यान्डका क्रिए ओएक्स र लियाम प्लङ्केटले समान ३-३ विकेट लिए। जोफ्रा आर्चर र मार्क उडले १-१ विकेट हात पारे।


प्रतिक्रिया दिनुहोस्