लोकसेवा विज्ञापनविरुद्ध केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

काठमाडौं साउन २ / लोकसेवा आयोगको परीक्षाको मुखैमा विज्ञापन खारेजीको माग गर्दै आज पनि लोकसेवा आयोगको केन्द्रिय कार्यालय अनाम नगरमा प्रदर्शन गरिएको छ ।

लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाले आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोग अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा शुरु हुन एक दिन अगाडि खारेज माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको हो ।

लोकसेवा आयोगले गरेको विज्ञापन संविधानको भावना विपरीत भएको भन्दै यस अगाडि पनि विरोध प्रदर्शन हुँदै आएको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगको विज्ञापन संविधानको व्यवस्था अनुसार नै रहेको दावी गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्