रुपन्देहीमा बुद्धको मूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं साउन ३ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्ग आसपास राखिएका बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति तोडफोड भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,’ खाँणले भनेका छन्, ‘यसरी धार्मिक, साँस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजितरूपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ।’घटनाको सत्यतथ्य छानबिन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्