नेपाली छोराले जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै

काठमाडौं साउन ७ / उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’

जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन् ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड रेलजस्तै कुद्ने डब्बा बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो । ‘हाम्रो एक वर्षसम्मको अहोरात्र मिहिनेतले फल दिएको छ,’ प्रतिस्पर्धा जितेपछि पौडेलले फोनमा भने, ‘सपनाले आकार लिएको छ र मलाई असाध्यै गर्व अनुभव भइरहेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्