हार बेहोर्दै विश्वकप खेल्ने नेपालको सपना चकनाचुर सिंगापुरसँग पराजित

काठमाडौं साउन १२ / आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ ।

जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।

कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए ।मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो।सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा ४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए ।त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए ।

नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।

पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।
एजेन्सी


प्रतिक्रिया दिनुहोस्