कारागारमा कैदीबीच हानाहान हुंदा एकको मृत्यु

काठमाडौं साउन १७ / ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए।उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउन नपाउँदै उनको मृत्यु भएको थियो।

दुवै कर्तव्य ज्यान मुद्दाका कैदी हुन्। पवनकुमार २०७४ सालमा नख्खु कारागार सरुवा भएर आएका थिए। सर्लाहीका ४५ वर्षीय महतो कर्तव्य ज्यानमुद्दामा २०७१ सालमा जेल परेका थिए। सर्लाही जिल्ला कारागारबाट, झुम्का हुँदै उनी नख्खु आइपुगेका थिए।

ललितपुर प्रहरी परिसरका अनुसार मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली खटाइएको परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकले बताए।

‘वादविवाद हुँदै हानाहान भएको र त्यसक्रममा राजीको टाउकोमा ढुंगा हानिएको थाहा भएको छ,’ धानुकले भने, ‘टाउकोमा गहिरो चोट लागेकाले तत्कालै मृत्यु भएको बुझिएको छ।’


प्रतिक्रिया दिनुहोस्